मौरी बन्ने कि अरिङ्गाल ? सदाचार अँगाल्ने कि ब्यभिचार ?

रिपोर्ट नेपाल | 2018 Sep 17 | 08:11 am 9467

  • कृष्ण प्रसाद सापकाेटा

‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने वाक्य सुन्दैमा मन आनन्दले हरर्र हुन्छ । सदयौँदेखि सुख र समृद्धिका लागि तड्पिएका नेपाली जनता केपी ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सरकारले मूख्य नारा नै ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउँदा सबैमा नयाँ आशा जागृत भयो । दुई तिहाई बहुमतको सरकारलाई राम्रो काम गर्न कसैले रोक्न नसक्ने हुँदा सरकारको उक्त मूल लक्ष्य या उद्देश्य पूरा हुनेछ, अब नेपालीका दुःखका दिन गए भनी तरङ्गित नहुने कोही भएनन् ।

तर, देशलाई समृद्ध तुल्याउन नागरिक जाँगरिला हुनुपर्छ । कर्ममा विश्वास गर्ने र इमानदारीका साथ श्रम गदै पसिना चुहाउने जनताको जमात आवश्यक पर्छ । सबैले मिलेर श्रम गरे मात्रै देश समृद्धितर्फ लाग्छ र नागरिक सुखी हुन सक्छन् । र, यस्तो माहोल पैदा गर्न देशको राजनीतिक नेतृत्वकै प्रमुख भूमिका हुन्छ । नेतृत्वले सकारात्मक दिशातिर डोर्याए देश उज्यालो भविष्यतर्फ लम्कन्छ भने बाटो बिराए भड्खालोमा पर्छ । यति सामान्य कुरा नबुझ्ने कोही छैनन् ।

अब जिज्ञासा जाग्छ– ‘मुलुक साँच्चै सुख–समृद्धिको बाटोमा लम्केको छ कि छैन त ?’

विहानीले दिनको उज्यालोकोको सङ्केत गर्छ भन्ने भनाईमा आधारित भई भन्ने हो भने सुख–समृद्धि र उज्यालोतर्फ देश हिँडिरहेको छ भनी मान्न कोही तयार हुन्छ भने त्यो वर्तमान राजनीतिक नेतृत्वको दासता स्वीकार गरेको अर्थ मात्र लाग्छ । जनतामा एकताभाव जगाउने होइन राजनीतिक दलप्रतिको आस्थाका आधारमा विभक्त गर्ने, सबै नागरिकलाई समान रूपले हेर्न नसक्ने, पक्ष–विपक्षमा अलग्याएर एकएर्कालाई आपसमा लडभिड गर्न उक्साउने, सरकारले नराम्रो काम गरे पनि त्यसको प्रतिवादमा उत्रनेलाई अरिङ्गालको गोलै खनिएजस्तो गरी खनिएर आक्रमण गर्न उक्साउने त हाम्रो देशको मूल नेतृत्व नै छ भने अब देश एकता, विकास र समृद्धितिर जाला कि झुठ, फुट, अराजकता, अशान्ति र अधोगतितिर ? जवाफमा केही बोलिरहनै पर्दैन ।

हो, हामीले यस्तै नेतृत्वलाई विश्वास गरेर सत्ताको लगाम थमाइदिएका छौँ, जो जनतालाई मौरी जस्तै जाँगरिलो र मिहेनती बनेर देश बनाउन होइन कि अरिङ्गाल बनेर आलोचकलाई टोक्न, डस्न, घाइते तुुल्याउन अनि चोर्न, लुट्न, अराजक बन्न उक्साउँछ । आफै अराजकता र अशान्तिको कारक बन्छ अनि सुख र समृद्धिको गफ दिएर भुलाउन खोज्छ । हो यस्तै नेतृत्वको भर परेर हामी विकास र समृद्धिको बाटो खोज्दैछौँ, सुख, शान्ति र सुरक्षा खोज्दैछौँ । धन्य हौँ हामी नेपाली ।

मुलुककै प्रमुख कार्यकारी पदमा रहेका व्यक्तिबाटै यस्तो अभिव्यक्ति आउँछ भने अब न्याय खोज्न जनता कहाँ जाने ? सत्य, सेवा सुरक्षाको मूल अभीष्टसहित जनताको साथी रहेको दाबी गर्ने नेपाल प्रहरी नै आज आफै अपराध कर्ममा उत्रने, अपराधको ढाकछोप गर्ने व्यवहार प्रदर्शन गर्न लाग्यो भने साँच्चै नागरिकले दुःख पर्दा कहाँ गुहार लगाउने ? यतिबेला यो प्रश्नले सारा नेपालीको मन खल्बल्याएको छ ।

आज देश बलात्कारमय भएको छ । दिनदहाडै बालिका बलातकृत हुन्छिन्, त्यतिले नपुगी उनको विभत्स हत्या हुन्छ, जनता अपराधिको पहिचान गरी कारवाहीको माग गर्छन्, अभियुक्त को हो भन्ने पहिचान गर्न सकिने आधार पनि जनताकै तहबाट साङ्केतिक रूपमा औंल्याइएको छ, तर राज्य अपराधीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्दै पीडितलाई न्याय दिनुको साटो अपराधी जोगाउन न्वारनदेखिको बल लगाउँछ । न्याय माग्ने नागरिकमाथि लाठी, बुट र गोली वर्षाउँछ । निहत्था नागरिकको ज्यान लिन्छ र फेरि अभियुक्त पक्षको आड लिएर भन्छ– ‘के तिनको चाहिँ मानवाधिकार छैन ? तिनलेचाहिँ न्याय पाउनु पर्दैन ? लासको राजनीति गर्ने ?’

देशकै ठूलो दलको अध्यक्ष, मुलुककै प्रमुख कार्यकारी पदमा रहेका व्यक्तिबाटै यस्तो अभिव्यक्ति आउँछ भने अब न्याय खोज्न जनता कहाँ जाने ? सत्य, सेवा सुरक्षाको मूल अभीष्टसहित जनताको साथी रहेको दाबी गर्ने नेपाल प्रहरी नै आज आफै अपराध कर्ममा उत्रने, अपराधको ढाकछोप गर्ने व्यवहार प्रदर्शन गर्न लाग्यो भने साँच्चै नागरिकले दुःख पर्दा कहाँ गुहार लगाउने ? यतिबेला यो प्रश्नले सारा नेपालीको मन खल्बल्याएको छ । त्राही–त्राही बन्न पुगेका छन् आमजनता आज ।

जब समाज अत्यन्त आत्मकेन्द्रीत बन्छ, यो बिस्तारै विघठनको बाटोतिर जान्छ, जब समाज विश्रृङ्खलित हुन्छ– सामाजिक मान्यता समाप्त हुन्छ । यसपछि कमजोरहरू दिनैपिच्छे शक्रिशालीको शिकार बन्दै जान्छन् । समाजमा बालबालिका, वृद्ध, बिमारी, साधु, विद्वान र कर्मीहरू शक्तिशालीका शिकार हुन्छन् । मत्स्य न्याय मौलाउँछ । यस्तो समाज राज्यबाट अराज्यमा रुपान्तरित हुन्छ । यस्तो समाज भयावहपूर्ण हुन्छ । जसरी माछाले पानी खाएको कसैले देख्न सक्दैन त्यसैगरी यस्तो राज्यका शासक र कर्मचारीले राज्यको कोष सखाप पारेको कसैले प्रत्यक्ष देख्न सक्दैनन् तर देश भने टाट पर्दै गएको हुन्छ । असुरक्षित समाजमा भ्रष्टाचारले घर गर्छ, सदाचारीको कुनै मर्यादा रहन्न । अहिले नेपाली समाज यस्तै भएको छ भन्न अब कुनै आइतबार कुरिरहनै पर्दैन ।

जब मानिस आत्मकेन्द्रित र पाखण्डी हुन्छ, उसले हरेक कुरा विरोध गर्छ । उ मौका पाउनासाथ फटाइँ गर्छ । उ आफ्नो प्रगतिमा होइन अरुको बर्बादीमा खुशी हुन्छ । अनि राष्ट्रको उन्नतिका लागि होइन सबै आफ्नो स्वार्थसिद्धिका लागि दौडने प्रवृत्ति मौलाउँछ । नेपाली जनता यस्तो अवस्था निम्तियोस् भन्ने चाहँदैनन्, तर शासकहरू नै जबर्जस्ती यस्तै बेथिति निम्त्याउन उद्यत् देखिन्छन् । जतिसुकै इन्कार गर्न खोजे पनि अहिले यस्तै अनुभूति गरिएको छ ।

आफूलाई जन–सरकार दाबी गर्ने केपी ओली नेतृत्वको वर्तमान सरकार वास्तवमा जनताको सरकार होइन रहेछ । अन्यायविरुद्ध बोल्दा र लेख्दा पक्राउ पर्नुपर्ने, यातना सहनुपर्ने शासकले शासन गरेको सरकार जनताको सरकार हुन सक्दैन । रोजगारीको उपाय सिर्जना गर्दै ‘मौरीझैँ मिहेनती बन’ भन्नुको बदला ‘अरिङ्गाल बनेर जाइलाग, लुटपाट गर, जसरी पनि आफ्नै पेट भर’ भन्ने खालको सन्देश प्रवाहित गर्ने सरकारबाट समृद्धि र सुख प्राप्त गर्न सकिने कुरा अब मृगतृष्णा मात्र हो भन्न सोचविचार गरिरहनै पर्दैन ।

बालिका निर्मलाको बलात्कार तथा हत्या प्रकरणको वास्तविक दोषी पत्ता लगाएर उचित कारवाही गर्नुको साटो अपराधी जोगाउने आसयबाट प्रधानमन्त्रीको ओहदालाई दुरुपयोग गर्न खोजिएको जुन सन्दर्भ छ, यसले अन्धार भविष्यको सङ्केत गरेको छ । लोकतन्त्रको नाम जप्दै घोर निरङ्कुशता र सर्वसत्तावादतर्फ देशलाई दौडाइँदै छ । न्यायको खोजीमा सडकमा नागरिकको भेल उर्लिएको छ, तर त्यसमा प्रधानमन्त्री राजनीतिक गन्ध आएको महसुस गर्छन् । नागरिकको भेलले आँधी निम्त्याउँछ र अधिनायकवादी शासकहरूलाई बढार्न सक्छ भन्ने चेत भएर पनि चेत नभएको जस्तो व्यवहार दर्शाएर घोर संवेदनहीनता प्रकट गर्न प्रधानमन्त्री नै किन अभिसप्त छन्, बुझ्न नसकिने पहेली बनेको छ ।

जनताले निश्पक्ष ढङ्गले तथ्यमा आधारित अनुसन्धान हुनुपर्ने माग गरेका छन्, तर प्रधानमन्त्री सुनुवाइ गर्न तयार छैनन् । अनुसन्धान आयोग, उच्चस्तरीय आयोग हुँदै अब शक्तिशाली आयोगको नाममा अर्को आयोग खडा गरिएको छ । प्रहरी सङ्गठनमाथि आरोप लगोको छ, तर प्रहरीकै नेतृत्वमा आयोग गठन गरिएको छ । नागरिकले निश्पक्ष र सबैले विश्वास गर्न सक्ने छानबिन आयोगको माग गरेका छन्, तर राज्य सुनुवाई गरिरहेको छैन, उल्टै एकपछि अर्को गल्ती गरिरहेको छ ।

अन्त्यमा निचोड निकाल्नैपर्ने हुन्छ कि आफूलाई जन–सरकार दाबी गर्ने केपी ओली नेतृत्वको वर्तमान सरकार वास्तवमा जनताको सरकार होइन रहेछ । अन्यायविरुद्ध बोल्दा र लेख्दा पक्राउ पर्नुपर्ने, यातना सहनुपर्ने शासकले शासन गरेको सरकार जनताको सरकार हुन सक्दैन । रोजगारीको उपाय सिर्जना गर्दै ‘मौरीझैँ मिहेनती बन’ भन्नुको बदला ‘अरिङ्गाल बनेर जाइलाग, लुटपाट गर, जसरी पनि आफ्नै पेट भर’ भन्ने खालको सन्देश प्रवाहित गर्ने सरकारबाट समृद्धि र सुख प्राप्त गर्न सकिने कुरा अब मृगतृष्णा मात्र हो भन्न सोचविचार गरिरहनै पर्दैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.