माेरङ, जेठ १०ः कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरण र रोकथामका लागि लगाइएको निषेधाज्ञाका कारण वितरण प्रणाली ठप्प हुँदा मोरङ–सुनसरी औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द भएका छन् ।
चामल, दाल, तेल, मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक केही वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन भए पनि रड, सिमेन्ट, चाउचाउ, बिस्कुट, जुस, जुट, धागो, फलामे डन्डी, जस्तापातालगायतका उद्योगहरू बन्द भएका छन् । वितरण प्रणाली ठप्प हुँदा उद्योगहरू बन्द भएको उद्योगी सञ्चालक बताउँछन् । उत्पादित वस्तु बजारसम्म पुग्न नपाउँदा गोदाममै थन्किएर बसेको छ ।
नेपाल उद्योग परिसंघ प्रदेश–१ का उपाध्यक्षसमेत रहेका उद्योगी नवलकिशोर काबराले यस क्षेत्रका ८० प्रतिशत उद्योग बन्द भइसकेको उल्लेख जानकारी दिए । कोरोनाको कहर अझै लम्बिँदै गए अन्य उद्योग पनि बन्द हुने उनको भनाइ छ । काबरा भन्छन्, “उपभोक्ताको आम्दानीका स्रोतहरू ठप्प भएको अवस्था छ । यस्तो अवस्थामा अति आवश्यक वस्तुबाहेक अन्य क्षेत्रमा खर्च गर्ने अवस्था छैन । निर्माणका कामहरू ठप्प छ । जसका कारण उत्पादित वस्तुको खपत नभएपछि उद्योग सञ्चालन गर्नुको अर्थ छैन ।”
क्वालिटी बिस्कुटका सञ्चालकसमेत रहेका काबराले सुनसरीको दुहबीस्थित उद्योगको क्षमता ७० प्रतिशत कटौती गरिएको बताए । सञ्चालक काबराले दैनिक ५० टन उत्पादन गरिरहेको उद्योग १५ टन उत्पादनमा साँघुरिएको जानकारी दिए । उनको चाउचाउ उद्योग क्वालिटी नुडल्स पनि ३० प्रतिशत क्षमतामा चलिरहेको छ । “बैंक बन्द छ, ढुवानी ठप्प छ, कामदारको आवागमन सहज छैन,” उनले भने, “यति धेरै समस्या छन् भनेर साध्य छैन । बैंक नै बन्द गरिएपछि कामदारलाई साप्ताहिक भुक्तानी गर्न पनि समस्या भएको छ ।”
काबराले अति आवश्यक वस्तुको निर्यातमा प्रशासनले सहजीकरण गरिदिनुपर्नेमा जोड दिए । यस क्षेत्रका उत्पादन पूर्वका साथै काठमाडौं, पोखरा, वीरगन्ज, बुटवल, जनकपुर, नेपालगन्जलगायत मुलुकका प्रमुख सहरमा जाने गरेको थियो । तर, अहिले स्थानीय बजारसम्म पनि पु-याउने अवस्था नभएको उनले गुनासो पोखे ।
गत वर्षको लकडाउनमा शतप्रतिशत क्षमतामा उत्पादन र कारोबार गरेका खाद्यवस्तुका उद्योगलाई नेपाल र भारतको कडा लकडाउनले यस पटक बन्दको अवस्थामा पु-याएको हो । गुडलाइफ ब्रान्डका बिस्कुटका उत्पादक सुनसरीमा सञ्चालित एसियन बिस्कुट इन्डस्ट्रिज गत शुक्रबारदेखि बन्द भएको छ । उद्योगका सञ्चालक महेश जाजूले दैनिक ४० टन उत्पादन क्षमताको एसियन बिस्कुट अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जानकारी दिए । काराेबार दैनिकबाट