मोरङमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

रिपोर्ट नेपाल | 2020 Jan 23 | 01:35 pm 1420

मोरङ, माघ ९: जिल्लाको धनपालथान गाउँपालिका–६ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच विद्यार्थी घाइते भएका छन् ।

मृत्यु हुनेमा बसका सह–चालक विराटनगर महानगरपालिका–१५ का ३२ वर्षीय सानुकुमार साह रहेका छन् । रंगेलीबाट विराटनगरतर्फ आउँदै गर्दा दुर्घटनामा परी उनको मृत्यु भएको हो । १२ जना विद्यार्थी सवार रहेको विराटनगरको लर्ड बुद्ध हाइयर सेकेण्डरी स्कुलको मे १ ख १४९० नम्बरको बस दुर्घटनामा परेको हो ।

बाक्लो हुस्सु लागेका बेला घुम्तीमा विपरित दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा स्कुल बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका साहको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका विद्यार्थीहरुमा धनपालथान–७ की २० वर्षीया रञ्जिता मण्डल, धनपालथान–४ की २० वर्षीय सुष्मा राजवंशी, निकिताकुमारी राय, दीक्षा श्रेष्ठ र रंगेली नगरपालिका–४ की १९ वर्षीय लुना गौतम रहेका छन् । रञ्जिताको टाउकोमा चोट लागेको छ । सबै घाइतेको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।

बस र चालक विराटनगर–१७ का ३४ वर्षीय खिलबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.