जमीन र पानीको विशाल फैलावटका बाबजुद आजको विश्वलाई अत्यन्त साँघुरो ठान्न थालिएको छ । आकार खुम्चिएर संसार साँघुरो बन्न पुगेको भने होइन, बरु सूचना–प्रविधि तथा सञ्चारको तीव्रतम विकासले विश्वलाई खुम्च्याइदिएको हो । आज व्यक्तिको हातमा रहेको एउटा सानो मोबाइल फोनमै विश्व–ब्रह्माण्ड अटाएको हुन्छ । यो सूचना–प्रविधिको चमत्कार हो ।
यसरी सञ्चार प्रविधि र सूचनाले खुम्च्याएको विश्वको एउटा सानो मुलुक हो नेपाल । देश सानो भए पनि सञ्चार–सूचनाको क्षेत्रमा नेपालले मारेको छलाङ भने सानो छैन । आज मिडियाको नजरबाट लुक्न सक्ने कुरा पनि केही छैन । मिडिया एउटा सशक्त शक्तिको रूपमा स्थापित भएको छ, जसले मुलुकको शासन पद्दतिलाई खबरदारी गर्नुका साथै राष्ट्रको चौतर्फी विकास र समृद्धिमा पनि आफ्नै स्थानबाट योगदान पु¥याइरहेको छ ।
मिडियाको यस्तो विकास या बढोत्तरीको क्रममा हजारौँ अनलाइन पोर्टलहरू खुलेका छन् । अनलाइन मिडियाको भीडमा ‘हरेक रिपोर्ट सत्यको पक्षमा’ भन्ने अवधारणालाई आफ्नो मूल ध्येय या उद्देश्य बनाएर रिपोर्ट नेपाल डट कम प्रस्तुत भएको छ । हजारौँ अनलाइनको भीडमा समाचार, विचार, घटना–परिघटनाको प्रस्तुतिमा गर्नुपर्ने प्रतिष्पर्धा जति कठिन छ, सत्य, तथ्य र निष्पक्ष रूपमा सामग्री पस्किएर आमपाठकको हृदयमा आसन जमाउने कार्य अझै चुनौतीपूर्ण छ भन्ने हामीले महसुस गरेका छौँ । यो तथ्य बोध गरेर नै रिपोर्ट नेपाल डट कम नेपाली पत्रकारिताको मैदानमा उत्रिएको छ ।
केवल समुद्रमा एउटा थोपा थपिने र बिलाउने नियति ब्यहोर्नका लागि नभई तथ्य समाचार सम्प्रेषणको बलमा सागरभित्रको मोती बनेर चम्किने हाम्रो अभीष्ट छ । समाचारको प्रतिष्पर्धामा गलत सूचना या सामग्री पस्किएर पाठक वर्गलाई भ्रममा पार्ने कुरा हामी कल्पना गर्न पनि सक्दैनौँ । गलत समाचार सम्प्रेषण गर्नुभन्दा समाचार नै नदिनु एक कदम उपयुक्त हो भन्ने हाम्रो मान्यता छ । त्यसैले सत्य र निश्पक्षतालाई हामीले आफ्नो गहना बनाउने प्रण गरेका छौँ । प्रतिष्पर्धाको नाममा अस्वस्थ दौड हाम्रो लक्ष्य कदापि हुन सक्दैन ।
मुलुक सङ्घीय लोकतान्त्रिक परिपाटी अङ्गिकार गर्दै अघि बढ्न लागेको अवस्था छ । यस्तोमा संविधान र लोकतन्त्रको परिपालना एवम् प्रवद्र्धनमा यथासक्य योगदान पुर्याउँदै सामाजिक न्याय, कानुनी राज्य, अपराधमुक्त मुलुक, भ्रष्टाचाररहित राज्य जस्ता आदर्श स्थापनाको लागि ‘रिपोर्ट नेपाल’ हरदम क्रियाशील रहने छ । हाम्रो यस सद्उद्देश्यमा तमाम पाठकवर्ग, विज्ञापनदाता एवंम समाजका सबै तह–तप्काको साथ–सहयोग रहने अपेक्षा एवम् विश्वास हामीले लिएका छौँ ।
महेन्द्र पाण्डेय
कार्यकारी सम्पादक
रमेश गिरी
महाप्रबन्धक