मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ सुरक्षित

रिपोर्ट नेपाल | 2021 Jun 21 | 06:59 am 2149

सिन्धुपाल्चोक, असार ७ः सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको कतिपय संरचनामा क्षति पुर्याए पनि मुख्य सुरुङ भने सुरक्षित रहेको छ ।

“आयोजनाको संरचनामा क्षति पुगे पनि मुख्य सुरुङ मार्गमा भने क्षति पुगेको छैन”, मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आयोजना स्थलसम्मको सम्पर्क बनाउन तत्काल कम्तीमा १० किलोमिटर सडक निर्माण र चारवटा बेलिब्रिज जडान आवश्यक रहेकाले त्यसतर्फ अध्ययन थालिने जानकारी दिनुभयो । मेलम्चीमा असार १ गते आएको बाढीले त्यस क्षेत्रमा व्यापक क्षति पुर्याएको छ ।

मेलम्ची बजारदेखि मुहानसम्मको दूरी १८ किलोमिटर छ । आयोजनाको काम सुचारु गर्न १८ किलोमिटर सडक पूर्ण रूपमा सञ्चालनमा आउनुपर्ने छ । बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग, आयोजनाको बाँध, अडिट सुरुङ, हेडवक्र्स, पुल तथा मुहानको संरचनामा क्षति पुर्याएको छ । काठमाडौँमा पानी वितरण रोकेर असार १ गतेदेखि सुरुङको परीक्षण कार्य सुरु गरिएका कारण पनि सुरुङ सुरक्षित भएको हो ।

बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्गमध्ये खण्ड–खण्ड गरी करिब १० किलोमिटर सडक र छवटा पुल बगाएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

बाढीले सडक र पुलमा पुर्याएको क्षतिका कारण अहिले मेलम्ची आयोजना स्थलसँग नै सम्पर्क विच्छेद भएको छ । अहिलेसम्म हेलिकप्टरबाट मात्र आयोजना स्थलको निरीक्षण गरिएको पन्तले जानकारी दिनुभयो । लामो समयको प्रतीक्षा र कैयौँ उतारचढावलाई पार गर्दै चैत १० गतेदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी परीक्षणका रूपमा वितरण सुरु गरिएको थियो ।

हेलम्बु गाउँपालिकामा रहेको आयोजना स्थल पुग्ने सडक तथा पुलहरू बगाएका कारण अहिले आयोजनासँग सम्पर्क विच्छेद भएको छ । अहिले आयोजना स्थलसम्म पुग्ने सक्ने अवस्था नरहेकाले आयोजनामा के कति क्षति भएको भन्ने यकिन हुन नसकेको पन्तले स्पष्ट पारे ।

उनले थपे, “बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग र पुल बगाएको छ । ती प्रवेश मार्ग र पुल जति छिटो निर्माण गर्न सकियो, त्यति छिटो नै आयोजना स्थल पुगी क्षतिको यकिन गरी आयोजनाको काम पुनः सञ्चालन गर्नका लागि तयारी गर्न सकिन्छ ।” निर्माणाधीन पक्की बाँधलाई बाढीले छोपेको बताउँदै उनले बाँध निर्माणका लागि बनाइएको मुहान क्षेत्रको सडक र अम्बाथानका दुईवटा बेलिब्रिज बगाएको जानकारी दिए ।

मुहानको माथिल्लो भाग भेमाथाङ चौरबाट आएको पहिरोले पानी ओभर फ्लो भएर बाँध ढुङ्गामाटोले भरिएको अनुमान प्रवक्ता पन्तको छ । पक्की बाँध निर्माणाधीन अवस्थामा रहेकाले मेलम्चीको पानी तत्काल अस्थायी सुरुङबाट मुख्य सुरुङमा पठाउने गरिएको थियो ।

संरचनामा क्षति
आयोजनाका प्रवक्ता पन्तका अनुसार बाढीले आयोजनाको दर्जनौँ संरचना बगाउनुका साथै क्षति पु¥याएको छ । बाढीले तिम्बु र हल्देको दुईवटा मोटरेबल पुल, बाँध स्थलको दुईवटा बेलिब्रिज, मुहान नजिकैको इन्जिनियरिङ क्याम्प, सुरक्षा पोस्ट, कामदार तथा ठेकेदार बस्ने क्याम्प, क्यान्टिन तथा मेसिनहरू बगाएको छ ।

त्यसैगरी आयोजनाको क्षेत्रअन्तर्गतको तालामाराङ, चनौटे, हल्दे, चिप्लेढुङ्गालगायत स्थानमा टवटा मोटरेबल पुल बनाएको उनले जानकारी दिए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.