काठमाडाैं, बैशाख १६ः बहुप्रतिक्षित राष्ट्रिय गौरबको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काम धिमा गतिमा अघिबढेको छ ।
कारोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले मुलुकभर लकडाउन गरेपछि यस आयोजनाको काम ठप्प थियो । सरकारकै निर्देशनमा विकास निर्माण तथा ठूला विकास आयोजनालाई काम गर्न खुकुलो बनाएपछि आयोजनाले काम गर्न थालेको छ ।
लकडाउनकै कारण मेलम्चीमा काम गर्ने मजदुरहरू आ–आफ्नो घर गएको, निर्माण सामाग्रीको आपूर्ति नभएका कारण सरकारको निर्देशनले पनि केही दिन काम हुन नसकेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले जानकारी दिए ।
लकडाउनकै कारण मेलम्चीको सम्पूर्ण काम ठप्प थियो । सरकारको निर्देशनपछि केही सहज भएको छ, उनले भने–तर, मजदुर घर गएका कारण र निर्माण सामग्री आपूर्ति हुन नसक्दा काम केही दिन रोकिएको हो ।
अहिले निर्माण व्यवसायीलाई निर्माण सामाग्रीको ढुवानीमा सहजीकरण गर्दै आवश्यक सामग्री जम्मा पारिसकेको आयोजनाले जनाएको छ । यसमा आयोजनाले भूमिका खेलिरहेको सीडीई पन्तले जानकारी दिए ।
आयोजनाकै सहजीकरणमा निर्माण सामग्रीको आपूर्ति भइसकेको छ । मजदुर पनि पहिलाको तुलनामा आधाभन्दा कम हामीसँग छन् । काम भने भइरहेको छ । –उनले भने ।
आवश्यकताभन्दा कम जनशक्तिका कारण पछिल्लो अवस्थामा कामको गति कम भएको उनले स्वीकारे । आयोजनाको काम गर्ने चाइनिज ठेकेदार कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ ।
आयोजनाका अनुसार आयोजनामा ३ सय बढीले काम गर्दै आइरहेको थियो तर लकडाउनपछि भने १ सय २० जनाभन्दा कम मजदुर छन् । ठेकेदारपक्षको भने ४५ जना चिनियाँ कामदार रहेको आयोजनाले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट