काठमाडौँ, चैत २ः सरकारले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजनाको काम अगाडि बढाएको छ।
खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले काठमाडौँ उपत्यकामा बाह्रै महिना खानेपानी सुनिश्चित गर्न मकवानपुरको सिस्नेरी, ललितपुरको ठोस्ने खोला र भक्तपुरको महादेव खोलाबाट पानी आपूर्ति गर्न योजना अगाडि बढाएको जानकारी दिए।
उनले भने, “उपत्यकामा खानेपानी व्यवस्थापनलाई मेलम्चीमा मात्र भर पर्ने अवस्था छैन। भौगोलिक बनोट र बाढीपहिरोका कारण वा कुनै बेला सुरुङ मर्मत गर्नु पर्दा सो आयोजना बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउन खानेपानीको नयाँ विकल्प खोज्न आवश्यक देखिएको छ।” उपत्यकाको जनसङ्ख्या दिनदिनै बढ्दै गएकाले पनि खानेपानीको नयाँ विकल्पमा मन्त्रालयले काम सुरु गरेको उनको भनाइ छ।
गेलालका अनुसार सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने योजनाको सम्भाव्यता अध्ययन भई अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ। उपत्यका खानेपानी व्यवस्थापन बोर्डमार्फत सिस्नेरी खोला, खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत ठोस्ने खोला र भक्तपुरको महादेव खोलाबाट पानी ल्याउन अध्ययन भइरहेको छ। साढे सात करोड रुपियाँको लागतमा बिल्डिङ डिजाइन अथोरिटी (बीडीए) परामर्शदाताले आयोजनाको डीपीआर निर्माण गरिरहेको छ।
उनले भने “कुलेखानी नजिक रहेको सिस्नेरी खोलाबाट पानीलाई करिब दुई सय मिटरमाथि पम्प गरेर त्यहाँ जलाशय निर्माण गरी भण्डारण गरिने र त्यहाँदेखि पाइप लाइनबाट ललितपुरस्थित भैँसेपाटीमा पानी खसालिनेछ र त्यहाँबाट काठमाडौँ उपत्यकामा पानी वितरण गरिनेछ। कोगटे खोला र सिस्नेरी खोला मिसिएको ठाउँमा ड्याम बनाई जलाशय निर्माण गरिनेछ।’’
सिस्नेरी बाँधदेखि ललितपुरको सैँबुस्थित पानी प्रशोधन केन्द्रसम्म कुल १९ किलोमिटर पाइप लाइन जडान गर्नुपर्ने हुन्छ। वर्षायाममा सिस्नेरी खोलाबाट लिफ्टिङ गरेर दैनिक १५ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याउने गरी अहिले डीपीआर तयार भइरहेको उनले जानकारी दिए।
निर्माणाधीन काठमाडौँ–निजगढ दु्रत मार्ग हुँदै सिस्नेरीदेखि सैँबुसम्म पाइप लाइन निर्माण गर्न मिल्ने प्रारम्भिक अध्ययनले देखाएको उनको भनाइ छ। सो आयोजना सम्पन्न गर्न २६ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ। आर्थिक स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ।
त्यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने महादेव खोलामा ४० देखि ४२ मिटरको उचाइको जलाशय निर्माण गरी काठमाडौँ उपत्यकामा खानेपानी व्यवस्थापन गरिने गरी अध्ययन भइरहेको सचिव गेलालले जानकारी दिनुभयो। यो खोलाबाट विशेषगरी हिउँदयाममा पानी आपूर्ति गरिने सोच छ। करिब ८० करोड लिटर पानी भण्डारण गर्न सकिने क्षमताको पोखरी निर्माण गरिनेछ।
२०७७ चैतमा पहिलो पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिए पनि बाढीपहिरोका कारण सो आयोजना पटक–पटक बन्द हुँदै आएको छ। अहिले पनि अस्थायी रूपमा नै मेलम्चीको पानी वितरण हुँदै आएको छ। मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले अहिले पनि मेलम्चीको पानी चक्रपथबाहिर वितरण हुन नसकेको तथा चक्रपथभित्र पनि अझै पानीको माग रहेको हुनाले मेलम्चीको विकल्पका रूपमा चाँडै खानेपानी योजना निर्माण गर्नुपर्ने बताए। गाेरखापत्र अनलाइनबाट