काठमाडौं, फागुन २५ः मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता बिच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र १ हजार १० किमी पाइप बिच्छाएको थियो । नयाँ पाइपमा पनि अरू निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए ।
उनका अनुसार ढल तथा सडक बनाउँदा, विद्युत् अन्डरग्राउन्ड गर्दा पाइपमा क्षति पुगिरहेकाले पनि सडकमा धेरै ठाउँमा चुहावट पाइएको उनले जानकारी दिए । ‘पुरानो पाइपमा त चुहावट हुने नै भयो नयाँ पाइपमा पनि चुहावटको समस्या भइरहेको छ,’ उनले भने ।
निर्देशनालयले यसअघि बिच्छाइएका पाइपको परीक्षण गरिरहेको छ । नयाँ पाइपमा परीक्षण गर्दा ठाउँठाउँमा चुहावट भएको पाइएको र ती ठाउँमा मर्मत गरेर पुनः परीक्षण गरिने उनको भनाइ छ । ‘अन्तिम परीक्षणमा पनि समस्या नभएको पाइए मात्रै नयाँ पाइपबाट पानी पठाउन सकिनेछ,’ उनले भने ।
नयाँ पाइप परीक्षणका क्रममा हुँदा हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पुरानो संरचनाबाटै पानी वितरण गरिरहेको छ । उपत्यकामा झन्डै सय वर्ष पुरानो पाइप रहेकाले पनि पुराना पाइपमा बढी समस्या भइरहेको कार्यालयको भनाइ छ ।
पहिलो कम परिमाणमा पानी वितरण हुने गरेकामा मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पनि पाइपमा समस्या भएको श्रेष्ठले बताए । नयाँ पाइप परीक्षणका क्रममा भएकाले अहिले पुरानो पाइपबाटै पानी वितरण भइरहेको सूचना अधिकारी श्रेष्ठको दाबी छ । खासगरी ललितपुरको लगनखेल र आसपासका क्षेत्र, काठमाडौंमा पुरानो बस्ती क्षेत्रमा चुहावटको समस्या बढी छ ।
सरकारले गत महिनाबाट उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरेको थियो । मेलम्चीको पानी वितरण दुई वर्षपहिले नै सुरु भए पनि बाढीका कारण धेरै संरचनामा क्षति पुगेकाले बर्सेनि हिउँद महिनामा मात्रै पानी वितरण भइरहेको छ । राजधानी दैनिकबाट