‘मेलम्चीको पानी छिट्टै ल्याउन विकल्पसहित तयारी भइरहेकाे छ’ : मन्त्री मगर

| 2019 Feb 22 | 05:14 pm 1659

काठमाडौँ, फागुन  १० : खानेपानीमन्त्री विना मगरले जुनसुकै प्रक्रिया अपनाएर पनि छिट्टै राजधानीमा मेलम्चीको पानी ल्याउने तयारी मन्त्रालयले गरिरहेको बताएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजनाको खानेपानी काठमाडौँवासीले कहिले पिउन पाउँछन् भन्ने सांसद डिला सङ्ग्रौलाले सोधेकोे प्रश्नको जवाफमा मन्त्री मगरले सिएमसीले ठेक्का छाडेकाले पूर्वनिर्धारित तालिकानुसार पानी आउन नसकेको बताइन ।

‘अहिले मन्त्रालय दुई वटा विकल्प लिएर अघि बढेको छ, पहिलो सिएमसी आए छिटो समस्या समाधान हुन्छ, पानी छिटो आउँछ, यसैले सरकारले संयमतापूर्वक छलफल अघि बढाएको छ। ‘ मन्त्री मगरे भनिन्, ‘पुनःबोलपत्र आह्वान गरी छिटो पानी ल्याउने अर्को तयारी पनि गरिएको छ ।’

मन्त्रालयका पूर्वसचिव गजेन्द्रकुमार ठाकुर र मन्त्रीबीचको विवाद र सिएमसीसँग कमिशन मागिएका सम्बन्धमा भइरहेको सार्वजनिक टीकाटिप्पणीको सत्यतथ्य के हो भनी सांसद सङ्ग्रौलाले पूरक प्रश्न राखेका थिए । सांसदका पूरक प्रश्नको उत्तर दिँदै मन्त्री मगरले मेलम्ची आयोजनालाई आफू मन्त्री भएर आएपछि गतिका साथ अघि बढाएकाले तुलनात्मक रुपमा काम भएको जिकिर गरिन् ।

“म आएपछि धेरै काम भएको हो, निर्माण कम्पनी सिएमसीको लापर्वाहीले परिणाम दिन सकिएन, सुरुङ ‘ब्रेक थ्रु’र ‘भ्यान्टिलेसन’ निर्माण प्रक्रिया शुरु हुनु, फिनिसिङ अन्तिम चरणमा पुग्नु यसका उदाहरण हुन्”, उनले भनिन् ।

छिटो पानी ल्याउन सरकारका तर्फबाट निरन्तर प्रयत्न भइरहेको बताउँदै मन्त्री मगरले सिएमसी नआए पनि तीव्ररुपमा काम गर्ने गरी पुनःबोलपत्र आह्वानको तयारी गरिएको सुनाइन् । दुवै प्रयास समानान्तर रुपमा भइरहेको उनको भनाइ थियो । ‘भेण्डर’को समस्या समाधान गर्न सिएमसी आए सहज हुने भएकाले त्यसको प्रयास भइरहेको जनाइएको छ ।

ठेक्काको मान्यताभित्र रहेर काम गर्ने गरी आए सिएमसीलाई स्वागत गरिने तर विधि बाहिर गएर काम गर्न नसकिने मन्त्री मगरले बताइन् । उनले भनिन्, “मेरो सफलताको विषय पनि हो मेलम्ची आयोजना, पूर्वसचिवलाई पहिलो प्राथमिकतामा राखेर मेलम्चीको काम गर्न निर्देशन दिएकामा नगरेपछि सरुवा भएको हो”, ।

आफू आएपछि रु ८४ करोड १५ लाख मेलम्ची आयोजनाले भुक्तानी दिएकामा रु एक अर्ब खाएको भनी प्रचार गरिएकामा मन्त्री मगरले आपत्ति जनाइन् । मेलम्चीको विकल्पका रुपमा उपत्यकाका महादेवखोलालगायत पानीको स्रोतका बारेमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पनि पुगेको उहाँले प्रतिनिधिसभालाई जानकारी दिनुभयो । मेलम्चीको पाइप छिटो बिछ्याइ सकेर सडक बनाउने तयारी भइरहेको छ ।

उपत्यका वरपर जलाधार क्षेत्र घोषणा गर्ने गतिमै मन्त्रालयले काम गरिरहेको उनले बताइन् । मेलम्ची आयोजना हेर्न स्थलगतरुपमा जाँदा बनाइएको कार्ययोजनानुसार नै आफूले पानी आउने मिति घोषणा गरेको जानकारी पनि उनले दिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.