काठमाडौं, जेठ २१: सरकारले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलाइ गरिए ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको छ । ठेकेदार कम्पनीले काम सम्पन्न गर्न ताकेता गर्दा ठेकेदार कम्पनीले विभिन्न बहाना देखाएर निर्माण ठप्प पारेपछि ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको हो।
‘एक महिनादेखि काम ठप्प छ, कहिले क्षतिपूर्ति देऊ भनेर काम गर्दैन, कहिले बढी भुक्तानी देऊ भन्दै ढिलाइ गर्छ,’ खानेपानी मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अब कडा कदम चाल्न बाध्य हुन्छौं, स्थानीय ठेकेदारबाटै काम गराउँछौं।’
दसैंअघि नै सुन्दरीजल प्रशोधन केन्द्रमा पानी पुर्याउने सरकारको प्रतिबद्धता पूरा नहुने संकेत देखिएको जानकारी ती अधिकारीले दिए। ‘तालिका बनाएर चार महिनाभित्र प्रशोधन केन्द्रमा पानी पुर्याउने लक्ष्य राखिएको थियो,’ ती अधिकारीले भने, ‘अन्योल बढेको छ। अब यत्तिकै चुप लागेर बस्दैनौं।’
विभिन्न पटक मेलम्ची खानेपानी आयोजनाको निर्माणस्थल भ्रमण गरेकी मन्त्री बिना मगरले दसैंअघि नै प्रशोधन केन्द्रमा पानी पुर्याउने प्रतिबद्धता जनाएकी थिइन्।
निर्माण कम्पनी सीएमसीको केन्द्रीय कार्यालयलाई काम नगरे सम्झौतामा पुनर्विचार गर्ने भन्दै मन्त्रालयले पत्राचार गरिसकेको छ। एक महिनाअघि सीएमसीले २६ किमि सुरुङ खन्ने काम सम्पन्न गरिसकेको छ। ‘सुरुङजस्तो जटिल काम सम्पन्न गरिसकेको ठेकेदार कम्पनीले अन्य काम सजिलै गर्न सक्छ तर काम गर्ने इच्छा नै देखाएको छैन,’ खानेपानी मन्त्रालयका सहसचिव अनिलभद्र खनालले बताएको खबर आजको कान्तिपुर दैनिकमा छ ।
फाइनल सपोर्ट, हेडबक्स, टनेल इन्भर्ट लाइनिङ, टनेल मोनिटरिङ प्रणाली, तथ्यांक प्रणालीमा सूचना, एयर भेन्टिलेसन, भर्टिकल साइट स्थापना, गेट वेई र पानी डाइभर्सन गर्ने काम बाँकी रहेको उनले बताए।