काठमाडौं, भदौ ११ः गान्धीवादी नेता स्वर्गीय महेन्द्रनारायण निधिका छोरा तथा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई हिमाल, पहाड, तराइ र मधेसका जनताले मेरो पार्टी हो भन्ने बनाउदै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउनका लागि आफूले १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका उपसभापति निधिले शुक्रबार नयाँ बानेश्वरमा आफ्नो सम्पर्क कार्यालय खोलेका छन् ।
सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेता निधिले आगामी निर्वाचनमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताएका थिए ।
नेता निधिले आफूले कसैलाई पराजित गर्न र कसैलाई अक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको बताउँदै आफू कसैलाई रिटायर्ड गराउनका लागि सभापतिको उम्मेदवार नभएको पनि प्रष्ट पारेका थिए ।
उनले भने, ‘मलाई विश्वास छ, नेपाली कांग्रेसलाई आगामी एक, डेढ वर्षपछि हुने आम चुनावमा, देशको सबै तहको चुनावमा रुख छापलाई जिताउन हामी सफल हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बताएका थिए ।
नेपाली कांग्रेसको सभापति हुने कुराको लागि मेरो उद्देश्य भनेको आगामी आम चुनावमा नेपाली कांग्रेसलाई देशभरमा बहुमत प्राप्त गराउनका लागि आफ्नो बुद्धि, विवेक र संगठनलाई एकतावद्ध बनाएर, सबैलाई समेटेर आफ्नो भूमिका प्रस्तुत गर्नु नै मेरो सभापतिको उम्मेदवारीको उद्देश्य हो ।
उपसभापति निधिले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताए ।
आफूहरु संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउनु आवश्यक रहेको भन्दै उनले १४औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रुपमा प्रष्ट र वैचारिक रुपमा प्रतिवद्ध बनाएर लैजानुपर्ने बताए ।
उपसभापति निधिले कांग्रेस गुटभन्दा माथि उठ्नुपर्ने जनता तथा कार्यकर्ताको चाहना रहेको पनि बताएका थिए । कार्यक्रममा प्राध्यापक पुरुषोत्तम दाहालले स्वागत मन्तव्य राखेका थिए भने रामजी दाहालले कार्यक्रम संचालन गरेका थिए ।