मेयर बालेन र उपमेयर सुनितालाई स्वागत गर्न महानगरको तयारी

रिपोर्ट नेपाल | 2022 May 27 | 07:58 am 217

काठमाडौं, जेठ १३ः काठमाडौं महानगरपालिकाका कर्मचारी नवनियुक्त मेयर बालेन्द्र साह (बालेन ) र उपमेयर सुनिता डंगोललाई स्वागत गर्न हतारिएका छन् । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र प्रशासन विभागका कर्मचारी मेयर र उपमेयरको कोठामा कुनै पनि भौतिक संरचना कमी हुन नदिने गरी तयारी गरिरहेका छन् ।

मेयरकाे कक्ष

निवर्तमान मेयर विद्यासुन्दर शाक्यको कार्यकक्षमा नवनियुक्त मेयर बालेन र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको कार्यकक्षमा नवनियुक्त उपमेयर डंगोललाई राख्ने तयारी भएको छ । दुवैजनाले सोमबार महानगरको सुन्धारास्थित मुख्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । राष्ट्रिय सभागृहमा मेयरमा विजयी वालेन साहलाई मुख्य निर्वाचन अधिकृतले सपथ खुवाउने कार्यक्रम तय भएको छ । मेयरको सपथलगत्तै सोही राष्ट्रिय सभागृहमै मेयर साहले उपमेयर सुनिता डंगोललाई सपथ खुवाउने र त्यसलगत्तै त्यही मेयर साहले वडा अध्यक्षलाई सपथ खुवाउने कार्यक्रम तय भएको छ । निर्वाचन कार्यलयले विजयी घोषणा भएको चार दिनपछि सपथ गर्ने कार्यक्रम तय गरेको हो ।

त्यसलगत्तै मेयर र उपमेयरलाई लिन कामपा प्रहरी बलको निजी सुरक्षाकर्मी र सवारी साधन राष्ट्रिय सभागृह पुग्नेछ । त्यसपछि महानगरको मुख्यालयमा स्वागत गर्ने कार्यक्रम तय भएको कामपाले जनाएको छ ।सोही दिन ३२ वटै वडा अध्यक्षसहितको बोर्डको बैठक बस्ने र बोर्डले विभिन्न निर्णय गर्ने कार्यक्रम रहेको छ । ‘पहिलो निर्णय कुन विषयमा हुन्छ अहिलेसम्म जानकारी पाएका छैनौं’ – कामपाका एक कर्मचारीले भने ।आज शुक्रबार विजयी -याली आयोजना गर्ने कार्यक्रम तय भएको छ । शनिबार र आइतबार दुईदिन बिदा परेकोले सोमबारमात्र सपथग्रहण र महानगरको मुख्यालय प्रवेश गर्ने कार्यक्रम तय भएको हो ।

उपमेयर कक्ष मिलाउँदै युवाहरु

मेयर र उपमेयर मुख्यालय प्रवेश गर्ने भएपछि कामपाका मेयर र उपमेयरको कोठामा रङरोगन गरिएको छ । दुवै पदाधिकारीको कार्यकक्षको कार्पेट परिवर्तन गरिएको छ ।मेयर र उपमेयरका सचिवालयका कर्मचारीले दुवैजनाको कोठामा सजावट गरिरहेका छन् । ‘अहिलेलाई पहिलाकै कुर्सी व्यवस्था गरेका छौं, उहाँहरू आएपछि त्यही कुर्सीमा बस्ने कि अर्को कुर्सी ल्याउने भन्ने विषयमा कुनै निर्णय भएको छैन । यो विषयमा उहाहरूलेनै निर्णय गर्नुहुनेछ’ –कर्मचारीको भनाइ छ ।

महानगगरका नयाँ मेयर र उपमेयर प्रवेश गर्ने भएपछि प्रशासनले दुवै पदाधिकारीको सवारी साधन मर्मत संहार गरी वागदरबारमा छोपेर राखिएको छ । अघिल्लो कार्यकालका मेयर र उपमेयर बिदा भएकै दिन ६ गते दुवैजनाले गाडी फिर्ता गरेका थिए । निवर्तमान मेयर र उपमेयरले फिर्ता गरेको सवारी साधन मर्मत गरी छोपेर राखेका छौं – कामपा प्रशासन विभाग प्रमुख महेश काफ्लेले भने । ‘मेयर र उपमेयर महानगरको मुख्यालयमा आउने दिन सोमबार दुवै सवारी साधन उहाँहरूलाई लिन सभागृह पठाउँदैछौं ।’, उनले भने– ‘मत गणना सम्पन्न भएर विजयी भएपछि सवारी साधनको व्यवस्था गर्ने तयारीमा छौं ।’

मेयर र उपमेयरकाे गाडी

पहिलो बोर्ड बैठकपछि प्रमुख प्रशासकीय अधिकृत पौडल र विभागीय प्रमुखले महानगरको योजना, नीति, कार्यक्रम र विभिन्न विभाग कामको प्रकृतिको विषयमा जानकारी दिने कार्यक्रम तय भएको छ । सोमबार वा भोलिपल्ट गर्ने भन्ने विषयमा निर्णय भएको छैन – उच्च अधिकारीले भने । राजश्व विभाग प्रमुख डा.शिवराज अधिकारी र वित्त विभाग प्रमुख वुद्धिरत्न मानन्धर, खरिद तथा अन्य विभागको विषयमा निर्माण विभाग प्रमुख रामबहादुर थापा र नीति तथा योजनाको विषयमा खरिद एकाई प्रमुख ध्रुर्व काफ्लेले जानकारी गराउने कार्यक्रम रहेको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.