मेयर कप भलिबलको उपाधि धनगढी उपमहानगरपालिकालाई

रिपोर्ट नेपाल | 2018 Jun 02 | 06:34 am 3547

कचनपुर, जेठ १८: कञ्चनपुरको भीमदत्तनगरमा शुक्रबार सम्पन्न प्रदेश नं ७ स्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाको टोलीले जितेको छ ।

भीमदत्तनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा आयोजक कञ्चनपुरको भीमदत्तनगरपालिकाको टोलीलाई ३–१ सेटले पराजित गर्र्दै पहिलो पटक यहाँ भएको मेयर कपको उपाधि धनगढीले जितेको हो ।

सुरुआती सेटमा भीमदत्तनगरपालिकाले धनगढीलाई पराजित गरे पनि त्यसपछि लगातार तीन सेट आफ्नो पक्षमा पार्दै धनगढी उपमहानगरपालिकाको टोली विजेता बन्न सफल भयो ।

विजेता बनेसँगै धनगढीले रु एक लाख ११ हजार १११ नगद, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत भएको छ । प्रतियोगितामा दोस्रो भएको आयोजक भीमदत्तनगरको टोलीले रु ७१ हजार १११ र तेस्रो स्थान ओगट्न सफल बैतडीको दशरथ चन्द नगरपालिकाले रु ५१ हजार १११ नगद र ट्रफी हात पारेको छ ।

प्रतियोगितामा विजेता र उपविजेता टोलीहरुलाई प्रदेश नं ७ का प्रदेशसभा सदस्य प्रकाश रावलले पुरस्कृत गर्नुभएको थियो । भीमदत्त नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा प्रदेश नं ७ का विभिन्न जिल्लाका स्थानीय तहका गरी ११ वटा टोलीको सहभागिता रहेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.