पोखरा, असार १ : पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाउदा पत्रकारसहित पाँच जना घाइते भएका छन् । पोखराको फिर्के खोलामा पैदल मार्ग (फुट ट्रयाक) उद्घाटनको क्रममा एक्कासी डोजर चलेर फिर्केको रेलिङलाई धक्का दिँदा पत्रकार सन्देश श्रेष्ठ र रञ्जन अधिकारीलगायत ५ जना घाइते भएका हुन् ।
उद्घाटनको फोटो खिच्न पत्रकार तथा स्थानीयहरु फिर्के खोलामा रहेको रेलिङमा आड लागेर बसेका थिए । कार्यक्रम अनुसार प्रमुख जिसी डोजरमा चढे । प्रमुख जिसीसँगै डोजर अपरेटर पनि थिए । मेयर जिसीले झुक्किएर लिभर दबाउँदा डोजरको वकेटले रेलिङ भत्काएको हो ।
डोजरको फोर्सले धक्का दिदा रेलिङ भत्कियो र त्यसमा अडेस लाग्नेहरु फिर्के खोलामा खसे । यसरी फिर्के खोलामा खस्नेहरुमा पत्रकारहरुसँगै पोखरा लेखनाथ महानगरपालिका ८ बाट उद्घाटन हेर्न आएकी प्रगती आमा समूहकी गौरी पौडेललगायत ५ जना थिए ।