काठमाडौं, मंसिर २७ : पाँच वर्षपछि हुन लागेको नेपाली कांग्रेसको महासमिति बैठकको तिव्र तयारी भइरहेको छ। मूल आयोजक कमिटीको रूपमा कांग्रेसको सभापति नेतृत्वको केन्द्रीय समिति रहेको महासमिति बैठक काठमाडौंस्थित योगम्बर पार्टी प्यालेसमा हुँदैछ।
बैठकमा दैनिक १५ सय जनाका लागि खाना खुवाउने तयारी गरिएको छ । यसका लागि बनेको मेन्यु अनुसार विहान ब्रेकफास्ट, दिउँसो लन्च र बेलुका हाइटीको व्यवस्था गरिएको छ ।
कांग्रेस महासमिति सदस्यहरुका लागि बिहान (ब्रेकफास्ट)मा छोला भटूरा, खीर तरकारी, पकौडा, स्याण्डविच लगायतका मेन्यु तयार गरिएको छ । त्यस्तै दिउँसो (लन्च)मा ‘प्लेन राइस’, दाल फ्राई, मिक्स भेज, साग, मटन, चिकेन, अचार, सलाद र पापडको व्यवस्था गरिएको योगम्बर पार्टी प्यालेसका व्यवस्थापकले लोकान्तरलाई जानकारी दिए ।
‘मेन्युमा आवश्यकता अनुसार खानाका आइटमहरू थपघट गर्न सकिन्छ’ मुख्यसचिव कृष्ण पौडेलले बताए।
त्यस्तै लन्च पछाडि दिउँसो ४–५ बजेतिर हाइटीको रूपमा चिया कफी, कुकिज र आवश्यकता अनुसार स्याण्डविच, पकौडा दिइने जानकारी पार्टी प्यालेसका व्यवस्थापकले दिए ।
खानाको मूल्य प्रतिदिन प्रतिव्यक्ति ७५० रुपैयाँ रहेको भएपनि ६५० रुपैयाँमा सहमति भएको र गेस्टहरू थपिए त्यही मूल्यमा अतिरिक्त खाना उपलब्ध गराउन सकिने पार्टी प्यालेस व्यवस्थापनले जानकारी दिएको छ। बेलुकाको खाना र बासको लागि भने महाधिवेशन प्रतिनिधिहरुले आफ्नो व्यवस्था आफैं गर्नुपर्ने छ ।
प्रतिव्यक्ति ६५० को हिसाबले १५०० सहभागीको दैनिक खानाको मूल्य ९ लाख ७५ हजार पर्नेछ । पाँच दिनसम्म चल्ने महासमिति बैठक सकिँदासम्म ४८ लाख ७५ हजार खानामा मात्र खर्च हुने देखिन्छ ।
महासमिति बैठकलाई काठमाडौं जिल्ला सभापति सबुज बानियाँको नेतृत्वमा भक्तपुर र ललितपुरका सभापति र जिल्ला समितिका सदस्यहरूले स्थानीय रूपमा व्यवस्थापन गरिरहेका छन् ।
नेपाली कांग्रेसको विधानमा हरेक वर्ष महासमितिको बैठक गर्ने भन्ने उल्लेख गरिएको छ तर गत २०७२ सालको फागुनमा भएको तेह्रौं महाधिवेशनपछि कांग्रेसले महासमिति बैठकको आयोजना गरेको थिएन । ७० सालको निर्वाचन पूर्व नवलपरासीको त्रिवेणीमा आयोजना भएको महासमिति बैठकपछिको यो अर्को बैठक हो ।
महासमितिलाई काङ्ग्रेसको संसद्का रूपमा लिइन्छ, यहाँबाट अर्थात् महासमितिबाट पारित भएको हरेक दस्तावेज विधान कार्यान्वयनमा आउँछ। यद्यपि विधानमै उल्लेख भएको हरेक वर्ष महासमिति बैठक गर्नुपर्ने भन्ने प्रावधान ५ वर्ष सम्म कार्यान्वयन भएको थिएन ।
गत भदौमा महासमितिको बैठक हुने भनिएपनि कांग्रेसले पार्टीको विधान संशोधनका लागि मस्यौदा समिति बनाउन नसक्दा भदौमा हुने भनिएको महासमिति बैठक प्रभावित भएको थियो । कांग्रेसले भदौ अन्तिम साता महासमिति बैठक गर्ने निर्णय लिएको थियो । भदौमा विधान संशोधनको मस्यौदा तयारी नभएको भन्दै यही मंसिर ५ गतेदेखि बैठक शुरू गर्ने भनियो । तर पनि शुरू हुन सकेन ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन् ‘मंसिर २८ गतेदेखि कुनै पनि हालतमा महाधिवेशन बैठक शुरु हुन्छ ।’ तयारी र अन्य पाटाहरूलाई हेर्दा, महासमितिको बैठक पछिल्लोपटक तोकिएकै मितिमा हुने देखिन्छ ।