काठमाडौंः मेडिकल शिक्षा सुधारको माग राख्दै दुई सातादेखि १५ औं अनशनमा रहेका डा गोविन्द केसीको समर्थनमा शनिबार बृहत विरोध जुलुस निकालियो।
जसमा चिकित्सा शिक्षालाई व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन तयार गरिएकोे माथेमा प्रतिवेदन तयार समितिका संयोजक केदारभक्त माथेमाले मेडिकल कलेज चलाउने कुरा गम्भीर विषय भएकाले मन्टेश्वरी चलाएजस्तो गरी सम्बन्धन दिनु नहुने बताएका छन्।
माथेमाले विरोध जुलुसमा दिएको मन्तव्य जस्ताको त्यस्तै:
पञ्चायतकालमा प्रजातन्त्रका लागि लडियो, प्रजातन्त्रमा पनि शासकले शोषण गरे भन्दै गणतन्त्र ल्याउन आन्दोलन गरियो र अहिले गणतन्त्रमा पनि दुई तिहाइ बहुमत भएको सरकार हुँदा पनि आन्दोलन गर्नुपर्ने बाध्यता छ। अहिलेको यति ठुलो बहुमत प्राप्त सरकार हुँदा पनि ०.०००१ प्रतिशतका लागि सिंगो तीन करोड नेपाली जनतालाई दुख दिने काम गरिरहेको छ।
वास्तवमा हामीले तयार पारेको त्यो प्रतिवेदन बुझ्नु भएको छ भने तपाँईकोे पार्टीको चुनावी घोषणापत्र अनुसार नै छ। तपाईँले त यस प्रतिवेदनलाई राम्ररी बुझ्नु नै भएको छैनजस्तो लाग्यो। यदी तपाईँका कार्यकर्तालाई राम्ररी बुझाउनु भयो र उहाँहरुले बुझ्नु भयो भने तपाईँका विरुद्ध सडकका आउँनुहुन्छ।
यो प्रतिवेदन सरल छ। प्रतिवेदनमा दुईवटा कुरालाई जोड दिएका छौं । पहिलो कुरा चिकित्सक शिक्षाको गुणस्तर अभिवृद्धि हुनुपर्यो। चिकित्सक भनेको त हजारौं बिरामीहरुलाई बचाउने संवेदनशील पेसा हो। हामी उदाहरणको रुपमा हेर्न सक्छौं, क्यानडाजस्तो देशमा एउटा पनि निजि मेडिकल कलेज छैनन्।
हामीले देखेको बेथिती अब नहोस् भन्ने कुरालाई समेटेर यो प्रतिवेदन बनाएको हौं।
दोस्रो कुरा भनेको काठमाडौंमा धेरै मेडिकल कलेज भयो अब नभएका ठाउँमा पनि मेडिकल कलेज खोलौं भन्ने छ। काठमाडौंमा धेरै मेडिकल कलेज हुँदा त राम्रै हो भन्ने लाग्ला तर त्यसो होइन। धेरै मेडिकल कलेज भएमा अस्पतालहरु धेरै हुन्छन्। धेरै अस्पताल भएर के गर्ने, एउटा अस्पतालमा २०–२५ जना विरामी मु्स्कीलले हुन्छन्। अब विरामी भनेको एउटा मेडिकल विद्यार्थीहरुको लागि ल्याबरेटोरीजस्तै हो। उनीहरुलाई त जति विरामी आउँछन्, जति जटिल समस्यासहित विरामी आउँछन् तब मात्र मेडिकल शिक्षा पढिरहेको विद्यार्थी चुस्त हुन्छ। विरामी नै नभएको कलेजमा पढेर विद्यार्थीले के सिक्छ ?
त्यसकारण हामीले भन्यौं काठमाडौंमा अब मेडिकल कलेज खोल्न हुदैन। गुणस्तर वृद्धि र दुर्गममा सेवा पु¥याउनका लागि हामीले अब काठमाडौं बाहिर मेडिकल कलेजहरु खोल्नुपर्छ भन्यौं ।
एउटा मेडिकल कलेज चलाउन दुईसयदेखि तीन सयसम्म शिक्षकहरु चाहिन्छ। अब अहिले नै अभाव भइरहेको काठमाडौंमा अझै मेडिकल कलेज खोल्ने हो भने शिक्षकहरुको अभाव कसरी पुरा हुन्छ र त्यही शिक्षक बाडचुड गर्नुपर्ने अवस्था आउँछ।
केही दिन अघि शिक्षामन्त्री गिरिजमाणी पाख्रेलसँगको वार्तामा दाहिनेपट्टी टिचिङ अस्पतालको डिन थिए भने देब्रेपट्टी पाटनको डिन हुनुहुन्थ्यो । उहाँहरु विज्ञ हो र उहाँहरुले मन्त्री जीलाई भन्नुभयो, ‘मन्त्रीज्यू पुग्यो अब, अब धेरै भयो। काठमाडौंले धान्न सक्दैन।’
त्यसकारण यी सबै कुराहरु बुझेर ‘नो मोर मेडिकल कलेज इन दी काठमाडौं भ्याली’ भनेका छौं । हाम्रो दोस्रो उद्देश्य भनेको सबैको सहज पहुँच होस् मेडिकल शिक्षामा। यो त धनीहरुको छोराहरुले मात्रै पढ्ने भन्नेजस्तो देखियो । हामीले जेहेन्दार, लगनशील तथा मेडिकल शिक्षा पढ्ने चाहना बोकेको तर पैसाले रोकिएको विद्यार्थीले पनि पढ्न पाउनुपर्छ भनेका छौं। मेडिकल कलेजहरु काठमाडौं बाहिर हुँदा काठमाडौं आउन नसक्ने विरामीहरुले उतै उपचार पाउने भए र काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुने भयो।
मुलुकको प्रधानमन्त्रीले नै भन्नुहुन्छ की प्रतिवेदन गलत छ भनेर, गलत छ भने भन्न सक्नु पर्यो नी के–के कुरा गलत छ। यदी चिकित्सकले तीमीलाई डायवेटिज लागेको छ रसबरी, गुलियो कुरा नखाउ भन्दा नाइ म त खान्छु भन्ने हो? उनीहरुले दिएको सुझावमा हामी आफू सचेत र सजग हुनुपर्यो की परेन?
विश्वविद्यालयले सम्बन्ध दियो, सम्बन्धन दिँदा त फाइदा छ नी तर त्यसको अनुगमन हुन सकेन। जसका कारण नक्कली लाइसेन्सदेखि नक्कली शिक्षक, विद्यार्थी र विरामी भेटिए । अब यसो गर्दा कसलाई फाइदा हुन्छ ? अब जति दिएको छ त्यो ठिकै छ अब त्यो नदिउ भनेर सुझाव दियौं। सम्बन्धन दिने सुपरभिजन दिन नसक्ने हो भने किन खाल्नुपर्यो , मेडिकल कलेज ?
मेडिकलजस्तो संवेदनशील विषय व्यापारीको हातमा दिने र छोडिदिने भन्ने हुन्छ। अहिलेको सरकारले त्यही चाहेको हो। यसको मतलब अहिलेको सरकारलाई यस विषयमा खासै चासो भएन। किनकी आफू विरामी हुँदा विदेश जान पाइहाल्छ।
अर्को कुरा भनेको हामीले कुनै मेडिकल कलेजलाई सम्बन्धन दिँदा कम्तीमा तीन वर्षसम्म अस्पताल चलाएको हुनुपर्ने भनेका छौं। यो मेडिकल कलेज खोल्ने भनेको मन्टेशरी खोल्ने कुरा हो र? अस्पताल कसरी अपरेट भइरहेको छ त्यसको गुणस्तर कस्तो छ, उपचार प्रभावकारी छ की छैन सबै कुरा जाँचेर मात्रै हामीले मेडिकल कलेजका लागि सम्बन्धन दिउ भनेका छौं। उहाँहरुले सबै कुरा व्यापारीको सजिलोका लागि गरिरहनु भएको छ।
उहाँहरुले स्वास्थ्यजस्तो गहन विषयलाई पैसासँग साटेर खेलाचीँ बनाइरहनु भएको छ। यसले नेपाललाई ठुलो खाडलतीर लैजानसक्छ। अबको राज्यको नीति कसरी बन्छ, विज्ञहरुको अनुसन्धानको नतिजाबाट बन्छ की बन्द कोठामा बसेर पैसावालको फाइदाका लागि बन्छ यस विषयमा गम्भीर हुनुपर्दछ।
सरकारका मान्छेहरुले जनताको फाइदाका लागि हेर्नुहुन्छ की आफ्नो फाइदाका लागि हेरेर नीति बनाउनुहुन्छ त्यो आगामी दिनमा हेर्दै जाने कुरा हो तर , स्वास्थ्य जस्तो विषयमा गम्भीर हुनैपर्छ। यो प्रतिवेदन पुरै एकचोटी पढेर बुझ्नैपर्छ। राम्ररी बुझेमा उहाँहरुको कार्यकर्ता नै सडका उर्लिन्छ डा केसीको पक्षमा।