काठमाडौं, मंसिर १०: देशभर रहेका मेडिकल कलेज अतिरिक्त शुल्क समायोजन गर्न सहमत भएका छन् । शिक्षा मन्त्रालय, राष्ट्रिय चिकित्सा शिक्षा आयोग र मेडिकल कलेजका सञ्चालकबीच सोमबार भएको छलफलमा शुल्क फिर्ता गर्न मेडिकल कलेजका सञ्चालक सहमत देखिएका हुन् । शुल्क फिर्ता गर्न अटेर गरेपछि सरकारले कडा कदम चाल्ने तयारी गरेसँगै मेडिकल कलेज बढी शुल्क फिर्ता गर्न सहमत भएको हो ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीका अनुसार मेडिकल कलेजले मंगलबारसम्म शुल्कको खाका पेस गर्नेछ । उनले भने, अतिरिक्त शुल्क समायोजन गर्न मेडिकल कलेज सकारात्मक देखिएका छन् ।
उनीहरूले मंगलबारसम्म रकम फिर्ता कसरी गर्ने भनेर लिखित रूपमा प्रतिबद्धता व्यक्त गर्ने र त्यसैअनुसार अघि बढ्ने कुरा भएको छ ।
गृह मन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क मंगलबारसम्म फिर्ता नगरे कारबाही गर्ने निर्णय गरेको हो ।
फिर्ता नगरे पक्राउ गर्न निर्देशन
चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गर्ने मेडिकल कलेज सञ्चालकलाई गृहमन्त्रालयले मंगलबारसम्म अन्तिम समय दिएको छ ।
मंगलबारसम्म पनि कलेजहरूले असुल गरेको अतिरिक्त शुल्क फिर्ता नगरे कलेजका सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ । राजधानी दैनिकबाट