हुम्ला फागुन २९ः सदरमुकाम सिमकोट बजारका लागि पानीको आपुर्ती हुँदै आएको हुमाने खोलाको मुहानमा पानी सुकेपछि उपभोक्ताहरूलाई पानीको हाहाकार भएको छ । हिउँदमा हिमपात राम्रो नहुँदा सुख्खा लागेसँगै मुहानको पानी सुक्दा पानीको समस्या भएको हो ।
सदरमुकाम समेत रहेको सिमिकोट गाउँपालिका– ५, ६ र बजारमा उक्त खोलाको पानी आपूर्ति हुँदै आएको छ । सिमिकोट बजारका उपभोक्ता अर्जुन परियारले धारामा पानी आउनै छोडेको बताए । उनले दुई हप्तादेखि धारामा पानी अक्कल झुक्कल रूपमा आउने गरेको बताउँदै खोलाको मुहानको पानी सुकेपछि पानीको हाहाकार भएको बताए । उनले हप्तामा एक देखि दुई दिन धारामा एक घण्टासम्म मात्र पानी आउने र बाँकी दिन पानी नै नआउने भएको कारण छिमेकी र तीन धाराबाट पानीको व्यवस्था गर्नु परि रहेको बताए ।
बर्खा याममा पानी राम्रो आउने गरेको भए पनि यस वर्ष हिउँद निक्कै कम हिमपात भएको कारण पानीको समस्या भएको बताउँदै उनले अझै जेठ असारमा यो समस्या झनै बढ्ने बताए । सिमिकोट खानेपानी उपभोक्ता समितिका प्राविधिक रुपेन्द्र रोकायाले माग भन्दा मुहानबाट कम पानी आपूर्ति भई रहेको कारण खानेपानीको समस्या भई रहेको बताए । उनले हिउ नपरेकै कारण मुहानमा नै पानीको श्रोत निक्कै कम भएको कारण मुहानबाट धेरै कम पानी आपूर्ति भएको कारण माग अनुसार ग्राहकलाई पानी उपलब्ध गराउन समितिलाई समस्या भएको बताए । उनले पानीको मुहानमै थोरै पानी आउने भएको कारण यो समस्या आएको बताउँदै हिउँले सेताम्मे हिमालहरूमा हिउँ नभएको कारण पानीको समस्या भएको बताए ।
समितिले पानी आपूर्ति गर्दै आएका उपभोक्ताहरूको माग दैनिक आठ लाख लिटर रहेकोमा हाल दैनिक बिहान र बेलुका चार लाख लिटरसम्म पानी आपूर्ति गर्न सकिएको जनाएको छ । यसका लागि दुई वटा पचास हजार लिटर क्षेमताका रिजर्भ भार ट्याङ्की, चार वटा बिस हजार लिटर अड्ने क्षेमताका साना ट्याङ्कीमा पानी जम्मा गरेर वितरण गरिँदै आएको छ । उनले बर्षायाममा साना ठुला सबै ट्याङ्कीमा पानी भरिए पनि अहिले आधा मात्र जम्मा हुने गरेको बताए । यसबाट चार सय व्यक्तिगत धाराबाट पानी एक देखि दुई घण्टासम्म पालो लगाएर वितरण गर्ने गरिएको समितिले जनाएको छ । अझ सार्वजनिक धारामा त पानी नै आउन छोडेको छ । यो समस्या विगतका वर्षहरूमा केही हुँदा आएको भए पनि यो वर्ष भने बढी देखिएको हो । गाेरखापत्र अनलाइनबाट