काठमाडौँ, फागुन ८ : मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीमाथि छानबिन सुरु गरिएको छ । छानबिनको क्रममा उनको फरक जन्ममिति भेटिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०५५ साल पुस २२ मा लिएको नागरिकताको ढड्डामा २०३७ साल असोज २४ गते र २०६६ साल भदौ ९ मा प्रतिलिपि लिँदा उनको जन्ममिति २०३० साल असोज २४ गते उल्लेख छ ।
०७३८४/८७१ नागरिकता नम्बर रहेको अन्सारीको प्रतिलिपि जारी गर्दा प्रशासनको ढड्डामा सिडिओको नामसमेत उल्लेख छैन।प्रशासन स्रोतका अनुसार नागरिकता नम्बर ८७० मा नागरिकता वाहकको जारी गर्ने प्रमुख जिल्ला अधिकारीको नाम योगेन्द्रनाथ ओझा उल्लेख छ। अन्सारीको ८७१ नम्बर रहेको नागरिकतामा सिडिओको नाम रहने ठाउँमा ‘द’ मात्रै लेखिएको छ।
अन्सारीले २०५५ सालमा नागरिकता लिने क्रममा काठमाडौँ महानगरपालिका–१९ ठेगाना उल्लेख गरेका छन् भने प्रतिलिपि लिने क्रममा काठमाडौँ महानगरपालिका–९ उल्लेख गरेर लिएका छन्।