मुस्ताङमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

| 2021 Jul 18 | 01:07 pm 2381

मुस्ताङ, साउन ३ः जिल्लाको घरपझोङ -५ ठिनी खोलामा रहेकाे कच्ची काठेपुल तर्ने क्रममा आइतबार बिहान ट्रक पल्टिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना सामान्य घाइते भएका छन् ।

मृत्यु हुनेमा रामेछाप जिल्ला गोकुल गंगा गाउँपालिका-१ बस्ने वर्ष ३८ का चित्रबहादुर श्रेष्ठ र  वर्ष २६ की मनिका श्रेष्ठ रहेका छन्  । उनीहरूकाे घटनास्थलमै मृत्यु भएको हाे ।

म्याग्दीबाट मुस्ताङको घरपझोङ-५ स्थित कुछ्प तेरङ्गा गुम्बा भवनका लागि निर्माण सामाग्री लिएर गएको ग १ ख ६८५२ नम्बरको मालवाहक ट्रक अस्थायी जीर्ण काठेपुल लोड थाम्न नसकी भाँचिन पुग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार जोमसोमदेखि करिब ३ किलोमिटरको दुरीमा पर्ने जोमसोम-ठिनी-धुम्बा भित्रि कच्ची सडकमा उक्त दुर्घटना भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार ट्रकमा चालकसहित ७ जना सवार रहेको जनाइएको छ । दुर्घटनामा मृत्यु भएका शवको पोष्ट मार्टमका लागि जोमसोम अस्पतालमा ल्याइएको छ भने ट्रकका चालक शिवराम ठाडालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.