-कौरव खत्री
गुल्मी, कात्तिक ५ : मुसिकोट नगरपालीकाले आयोजना गरेको बौद्धिक सम्मलेनमा ३५ बुँदे घोषणा पत्र जारी गरेको छ । (कृषि, पर्यटन, पूर्वाधार, र रोजगार मुसिकोट नगरपालिका समृद्धिको आधार) भन्ने नारा सहित वामी टक्सारमा दुई दिनसम्म आयोजना गरिएको सो सम्मेलनले पाँचवटा मुख्य बुँदा र नौ वटा सहायक बुँदा सहित ३५ बुँदे घोषणपत्र जारि गरेको हो ।

सम्मेलनले सामाजिक विकास, पूर्वाधार विकास, आर्थिक विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सामाजिक सेवा तथा सुशासन बुँदामा घोषणा पत्र तयार गरेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताए । मुसिकोट नगरपालिकामा जन्म भई देश तथा विदेशका विभिन्न स्थानमा रहेका विभिन्न क्षेत्रका सयौं बौद्धिक व्यक्तित्वहरुको भेलाले मुसिकोट नगरपालीकाको विकास र संमृद्धिको खाका तयार गरेको हो ।
घोषणा पत्रमा कला संस्कृतिको संरक्षण गर्न संग्रालय स्थापना गर्ने, खुल्ला तथा दुर शिक्षाका माध्यमवाट स्नातकोत्तर तहको कार्यक्रम संचालन गर्ने, प्रत्येक विद्यालयमा नर्स सहितको व्यवस्था गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम संचालन गर्ने, बागलुङको खारदेखि रुद्रवेणीसम्म बडिगाड खोलामा र्याफ्टीङ् संचालन गर्ने, जडिबुटिमा आधारित औषधि उद्योग स्थापना गर्ने, जैविक विविधता संरक्षण क्षेत्र घोषणा गर्ने, नगरपालिकामा दमकल एम्बुलेन्स व्यवस्था गर्ने लगायतका विषय वस्तुहरु समावेश गरिएको छ ।

बौद्धिक सम्मेलनमा छ वटा विषय वस्तुहरुमा आधारित रहेर कार्यपत्र तयारगरी छलफलको माध्यमबाट निष्कर्ष सहित उक्त घोषणा पत्र जारि गरिएको हो । घोषणा पत्रले मुसिकोट नगरपालिकाले आगामी छ महिना भित्रमा तयार गर्न लागेको नगरको गुरुयोजनालाई मार्ग निर्देश गर्न थप मद्दत पुग्ने सम्मेलन आयोजक समितिका संयोजक प्रकाश काफ्लेले बताए ।
घोषणा पत्र तयार गर्नका लागि प्रा.डा. ताराप्रसाद सापकोटाको संयोजकत्वमा डा. जिवलाल सापकोटा, डा. पारसमणि भण्डारी, डा. बुद्ध थापा र डा. ज्ञान वहादुर थापा रहेको ५ सदस्यीय घोषणा पत्र तयारी समितिको गठन गरिएको थियो । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीद्वारा उद्घाटन गरिएको सो सम्मेलनको आज सोमवार पूर्व उप प्रधानमन्त्रि टोप वहादुर रायमाझीले समापन गरेका थिए ।
