काठमाडौं, पुस ३: पाकिस्तानको इतिहासमा पहिलो पटक सेना प्रमुखलाई मृत्युदण्डको सजाय न्यायलयले सुनाएपछि पाकिस्तानी सेनाले त्यस कार्य प्रति आपत्ति जनाएको छ ।
पाकिस्तानको विशेष अदालतले पूर्वराष्ट्रिपति समेत रहेका परवेज मुशर्रफलाई देश द्रोह गरेको भन्दै फाँसी सुनाएको थियो । संविधानको अनुच्छेद ६ अनुसार पाकिस्तानमा मृत्युदण्ड सुनाउने प्रावधान छ ।
पूर्व सैन्य शासक मुशर्रफलाई पनि सोही दफा अनुसार फैसला सनाइएको थियो । तीन जना उच्च अदालतका न्यायाधीशको बेन्चले मुशर्रफलाई फाँसीको सजाय सुनाएपछि पाकिस्तानी सेनाले उनको बचाउ गर्दै अदालतले अभियुक्त बनाइएका मुशर्रफलाई बचाउ गर्ने मौका समेत नदिई ठोस प्रमाण बिना हतारमा फैसला सुनाएको आरोप लगाएको छ ।
ऐजेन्सीका अनुसार पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक वक्तव्य जारी गर्दै चालिस वर्षसम्म अनवरत देशको सेवा गरेको व्यक्ति देश द्रोही हुन नसक्ने उल्लेख गरेका छन् । उनले अदालतको फैसलाबाट सेनालाई धक्का लागेको समेत उल्लेख गरेका छन् ।
जुन व्यक्ति देश रक्षाको लडाईमा लागिरहेको थियो, त्यो व्यक्तिबाट देशद्रोहको काम गर्यो भन्ने सोच्न पनि नसकिने भन्दै कडा शब्दमा आलोचना गरेका छन् । अदालती फैसला हुँदा देशको संविधान अनुरुप हुनपर्ने पाकिस्तानी सेनाको दृष्टिकोण रहेको कुरा पनि प्रवक्ता गफूरले जनाएका छन् ।