मुलुकमा सामाजिक सदभाव विथोल्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

रिपोर्ट नेपाल | 2018 Dec 30 | 05:28 pm 1520

काठमाडौं, पुस १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकताको आवश्यक्तामा जोड दिएका छन् । आईतबार गुरुङ समूदायको ल्होसार पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकमा सामाजिक सदभाव विथोल्ने प्रयास फेरि पनि भइरहेको उल्लेख गर्दै त्यसलाई परास्त गरेर अघि बढन पनि सबै समुदायलाई आह्वान गरे ।

प्रधानमन्त्री ओलीले सरकारले पछि परेका जनतालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउन आवश्यक प्रबन्ध गरेको दावी पनि गरे । उनले सरकारले सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति लिएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले संघीयता, धर्म निरपेक्षता, गणतन्त्रबाट कोही पनि पछि हटन नसक्ने पनि स्पष्ट पारे । सबै जाति र समूदायको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढनुको विकल्प नरहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले नेपाल भूगोलले सानो भएपनि कला, भाषा र संस्कृतिको दृष्टिले विश्वमै सम्पन्न मुलुक भएको उल्लेख गर्दै सबै भाषा, कला र संस्कृतिको विकास गरेर अघि बढन सरकार प्रतिबद्ध रहेको पनि बताए । कार्यक्रममा गुरुङ समूदायको भाषा, कला र संस्कृति झल्कने खालका सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.