काठमाडौं, फागुन ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक सङ्क्रमण र अन्योलतालाई चिर्दै गठन भएको स्थिर सरकारले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको बताएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार निर्वाचन आयोगले आयोजना गरेको तेस्रो निर्वाचन दिवस २०७५ कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै। तस्वीर : रासस
राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने यस महत्वपूर्ण अवसरको पूर्ण सदुपयोग गर्न सबै राजनीतिक दल, प्रवुद्ध वर्ग र आम समुदायको एकता, सक्रिय सहयोग र सहकार्यको आवश्यकता रहेको औँल्याइन् ।
‘तेस्रो निर्वाचन दिवस–२०७५’ को अवसरमा निर्वाचन आयोगद्वारा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक सङ्क्रमणको अन्त्य, संविधानको घोषणा र तीनै तहको निर्वाचन सम्पन्न गरी देशलाई निश्चित दिशा प्रदान गर्न राजनीतिक दल, नागरिक समाज र सबै नेपालीको उत्साहपूर्वक सहभागिता स्मरणीय रहेको उल्लेख गरिन् ।
मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माध्यमद्वारा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लक्ष्य लिएको बताउँदै उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय संकल्प, मुलुकको आर्थिक सामाजिक समृद्धिको संवैधानिक मार्ग्चित्र अनुकूल भएकाले सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई एकबद्ध भएर अघि बढ्न आग्रह गरिन् ।
लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगेर्ना तथा सुदृढीकरणमा निर्वाचन आयोगले गरेको योगदानको प्रशंसा गर्दै उहाँले बदलिँदो अवस्थानुसार आयोगको काम कारवाही अझै प्रभावकारी ढङ्गले सम्पादन हुँदै जाने विश्वास व्यक्त गरिन् । आवधिक निर्वाचन लोकतन्त्रको आधारशीला रहेको भन्दै उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनु अनिवार्य सर्त हुने विचार व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले तीनै तहको निर्वाचनमा नेपाली जनताले उत्साहपूर्ण रुपमा सहभागी जनाई लोकतन्त्रको सुदृढीकरणमा ठोस योगदान गरेको स्मरण गर्दै स्वःस्फूर्त सहभागिताबाट लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्ने गहन जिम्मेवारी पूरा भएकोमा खुशी व्यक्त गरिन् । नेपाली जनताले निर्वाचनमा प्रदर्शन गरेको उत्साह र सहिष्णुताले मुलुकलाई समुन्नतिको मार्गमा अगाडि बढाएको उनको भनाइ थियो ।
निर्वाचनलाई अझै स्वच्छ, स्वतन्त्र र मर्यादित रुपमा सम्पन्न गरेर लोकतन्त्रलाई थप सुदृढ बनाउँदै लैजान आवश्यक कानून निर्माण र नवीन प्रविधिको प्रयोग गरी निर्वाचन व्यवस्थापनमा अझ बढी व्यावसायिक कुशलता अभिवृद्धितर्फ आयोग अघि बढ्ने राष्ट्रपति भण्डारीको विश्वास थियो । उनले निर्वाचन प्रक्रियालाई सरल र मतदातामैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिइन् ।