काठमाडौं, असार २५ः मुलुकभर ५६.६१ प्रतिशत धान रोपाइँ भएको छ । २२ असार मुलुकभर ५६.६१ प्रतिशत धान रोपाइँ भएको हो । कृषि विभागको तथ्यांकअनुसार मुलुकभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा धान रोपाइँ छ । यसमध्ये २२ असारसम्म ७ लाख ७६ हजार ४ सय ९० हेक्टरमा धान रोपाइँ भएको हो ।
गतवर्ष सोही अवधिमा ६०.६६ प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष समयमै मनसुन सक्रिय रूपमा सुरु भएपनि गतवर्षको तुलनामा यसवर्ष ४.०५ प्रतिशतले कम ठाउँमा धान रोपाइँ भएको छ । विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेले गतवर्ष लकडाउनका कारण सर्वसाधारण गाउँ फर्किएकाले बढी रोपाइँ भएको बताए ।
बीउ राख्ने बेला पानी कम परेकाले पनि हिले बीउमा ढिलाइ भएपछि केही कमी देखिएको उनको भनाइ छ । ‘गत वर्ष रोपाइँ हुने क्षेत्रफलको ९८ प्रतिशतमा रोपाइँ भयो । अहिले मनसुन सक्रिय भएको छ, रोपाइँ पनि तीव्र चलेको छ,’ उनले भने, ‘अब आउने तथ्यांकमा रोपाइँको क्षेत्रफल बढ्न सक्छ ।’
विभागको तथ्यांकअनुसार धेरै धान उत्पादन हुने क्षेत्र तराई र मध्य पहाडमा गत वर्षको सोही अवधिको तुलनामा रोपाइँ कम छ । उच्च पहाडमा ४८ हजार १ सय ९३ हेक्टरमा धान रोपाइँ हुन्छ यसमध्ये ५६.७ प्रतिशतमा रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा उच्च पहाडमा ५३ प्रतिशत मात्रै रोपाइँ भएको थियो । मध्य पहाडमा ५३.६९ प्रतिशतमा रोपाइँ भएको छ । उक्त क्षेत्रमा ३ लाख ४६ हजार ९९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुन्छ ।
तराई क्षेत्रमा असार २२ सम्म ५७.६४ प्रतिशत रोपाइँ भएको छ । विभागका अनुसार तराई क्षेत्रमा ९ लाख ७७ हजार ४ सय १४ हेक्टरमा रोपाइँ हुन्छ । गत वर्ष असार २२ सम्म तराई क्षेत्रमा ६२.३८ प्रतिशत रोपाइँ भएको थियो । नेपालमा सबैभन्दा बढी मध्य, पूर्व र तराईमा बढी धान खेती हुन्छ ।
७० प्रतिशत तराईमै उत्पादन हुन्छ । तथ्यांक अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा ८३.८५ प्रतिशत धान रोपाइँ भएको छ । कर्णालीमा ३८ हजार ३ सय ८५ हेक्टरमा रोपाइँ हुन्छ । दोस्रोमा लुम्बिनी प्रदेशमा ८०.५० प्रतिशत रोपाइँ भएको छ । यहाँ ३ लाख ३ हजार ५ सय ९३ हेक्टरमा रोपाइँ हुन्छ । तेस्रोमा सुदूरपश्चिम प्रदेशमा ७५.५४ र वाग्मतीमा ६१ प्रतिशत रोपाइँ भएको छ । प्रदेश १ मा ४६.५८, प्रदेश २ मा ३९.२८ र सबैभन्दा कम गण्डकीमा ३०.५७ प्रतिशत धान रोपाइँ भएको छ । राजधानी दैनिकबाट