- तुल मगर
उदयपुर , असार ३१: लगातार परेकाे अविरल वर्षाका कारण रौतामाई गाउपालिकाकाे प्रमुख बजार वडा नम्बर ७ मुर्कुचीमा गएराती भीषण बाढी पसेर ठूलाे क्षति पुर्याएकाे छ । बाढीले बगाएर एक १३ बर्षिय बालककाे मृत्यु भएकाे छ भने एक घाइते भएकाे प्रहरीले जानकारी दिए ।

मृत्यु हुनेमा स्थानीय आर्यन तामाङ रहेकाे बताइएकाे छ । उनकाे शव त्रियुगा नगरपालिका ६ चुहाडेमा फेला परेको हाे । आमा संग सुंगुरलाई चारो लगाउन गएको आर्यन तामाङलाई एक्कासी आएको बाढीले बगाएको थियो ।
बालकको शव मंगलबार त्रिनपा ६ चुहाडेस्थित खोलामा दाउराकाे आडमा अड्किएकाे अवस्थामा स्थानीयले फेला पारेको जानकारी दिए ।

साथै बालकसँगै बगाएको बालकका आमा ४० बर्षिय सुनिता तामाङलाई भने बगाएकाे ठाउँ भन्दा केही तल बालुवाले छाेपीएको गम्भीर घाइते अवस्थामा मंगलबार बिहान फेला परेको प्रहरीले बताए । घाइते अवस्थामा फेला परेकी सुनिताकाे स्थिती चिन्ताजनक रहेकाले उनकाे बिराटनगरमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाए ।
त्यस्तै अविरल वर्षाका कारण पहिराेले घर बगाउँदा रौतामाई गाउँपालिका ८ डिल्लीबरकी ५५ वर्षीया रणमाया रिखाम मगरको मृत्यु भएको स्थानीयले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली पठाइएकाे छ । घटना स्थलमा पैदल गरेर जानुपर्ने भएकोले प्रहरी पुग्न समय लागेकाे हाे । प्रहरी घटनास्थल पुगेपछि सम्पूर्ण कुराकाे पुष्टि हुने जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक बीर बहादुर बुढा मगरले जानकारी दिए।
