मुग्लान जानेको लर्को

रिपोर्ट नेपाल | 2020 Nov 07 | 08:57 am 1694

कैलाली, कात्तिक २२ः टीकापुर नगरपालिका–९ झुंगाका सुरेश चौधरीका तीन बहिनी छन्। तर, नजिकै आइरहेको भाइटीका छोडेर उनी भारतको राजधानी दिल्लीतिर लागेका छन्। कैलालीसँग सिमाना जोडिएको भारतको गौरीफन्टा बोर्डरमा लाइन लागेका सुरेश भन्छन् परिवारसँग दसैं मनाउन पाइयो, भाइटीकाभन्दा भोक प्यारो भयो।

उनले घरमा नुन तेलको पनि गर्जो नटरेपछि भारत हानिएको बताए। कोरोनाका कारण लकडाउन हुने हल्ला चलेकै बेला चैतको पहिलो हप्ता दिल्लीबाट घर फर्केका उनले, नेपालमा सामान्य मजदुरीसमेत नपाएको बताए। ‘पहिला पहिला निर्माण मजदुरको काम त पाइन्थ्यो, लकडाउनपछि धेरै युवाहरू घर फर्र्किए, पहिले दिनको पाउने पाँच सय ज्याला पनि अहिले युवाहरू बढी भएकाले चार सय भयो, त्यसैले भारत जानुको विकल्प देखिनँ,’ उनले थपे। उनीसहितका ८ जना युवाहरूको समूह भारत लागेको हो।

डडेलधुराको नवदुर्गा गाउँपालिका–४ का करनसिंह बोहरा पनि गौरीफन्टा बोर्डरको लामो लाममा भेटिए। उनी जेठको महिना लकडाउनकै बीच घर फर्किएका हुन्। घरमा आमाबुवा, भाइबहिनी सबै छन्, म जेठो हो, घर खर्च नचलेपछि नजिकैको भाइटीका पनि छोडेर भारत हिँडेको,’ उनले भने।

दसैंपछि अहिले भारत जानेहरूको संख्या तीन गुणाले बढेको छ। तिहार छोडेर, कोरोनाको समेत पर्वाह नगरेर उनीहरू भारत जान थालेका हुन्। कैलालीको लम्कीचुहा नगरपालिका–६ का तिलबहादुर ओली श्रीमती र बच्चासहित भारत लागेका छन्। ‘नेपालमा केही काम पाएन, चुनावका बेला नेताहरूले रोजगारी दिलाउने भनी गरेका भाषण सम्झने मात्रै हो, चण्डीगढमा आफन्त छन्, त्यतै केही काम पाइएला कि भनेर हिँडेको,’ उनले भने, ‘पहिलो पटक भारतमा कामको खोजीमा हिँडेको हुँ।

कैलालीको गोदावरी नगरपालिका–१२ का धनबहादुर चुनारा पनि बुहारी, नातिसहित भारततिर लागेका छन्। ‘छोरा दसैंअघि नै गइहाल्यो, अब तिहार पैसा भएपछि हुने त हो नि !, बुहारीले पनि केही काम गर्छ, छोरा अनि म, तीनै जनाले काम गरे मात्रै केही खर्च बचाउन सकिन्छ,’ उनले भने। उनी लकडाउनका बेला नेपाल फर्केका हुन्।

अहिले सुदूरपश्चिमका नौवटै जिल्लाबाट भारत जानेको सीमा क्षेत्रमा लर्को छ। कैलालीको धनगढी–गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी–बनबासाबाहेक सबै जिल्लाका नाकाहरू बन्द छन्। त्यसैले पनि प्रदेशका ९ वटै जिल्लामा मानिसहरू गौरीफन्टा र गड्डाचौकी नाका भएर भारत जाने गरेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.