बागलुङ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीयता विपरीत बजेट आएको भन्ने आफ्नो टिप्पणी गरेका छन् । बागलुङको लेखानी स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै बजेटप्रति असन्तुष्टि जनाएका हुन् । मुख्यमन्त्री गुरुङले प्रदेश सरकार केन्द्र सरकारले लगाइदिएको भाग खाएर बस्ने विकास समिति जस्तो नभएको बताएका छन् ।
‘हामी हिजोको जस्तो गाउँ विकास समिति र अस्पताल विकास समिति जस्तो होइनौं,’ उनले भने, ‘केन्द्र सरकारले आफ्नो अनुकूल हिँडाउन खोज्ने र बजेट अड्कलेर दिनुले संघीयताको मर्म विपरीतको काम भएको छ।’ उनले प्रदेश ४ ले देशको कुल विद्युत उत्पादनमा ५० प्रतिशत हिस्सा ओगट्दा ९ प्रतिशत मात्र रोयल्टी पाएको टिप्पणी गरे। ‘पर्यटनमा १ अर्ब रोयल्टी उठाउने हाम्रो प्रदेश बजेटमा २ प्रतिशत पाउने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भने ‘शिक्षा र स्वास्थ्यमा समेत दिएको योगदान विपरीत विकास बजेटमा अपमान गरियो।’
केन्द्र सरकारले दिएको रेल र पानीजहाज सपनाले मात्र समृद्धि नआउने उनले बताए। सबै प्रदेशको सामाजिक विकास उत्तिकै महत्त्वको भएको उनको धारणा छ।आर्थिक वर्ष ०७५/०७६ को बजेट ल्याउने तयारी गरेको प्रदेश सरकारले सबै तहलाई सडक सञ्जालमा जोड्ने लक्ष्य बनाएको बताए। उनले उत्पादन र रोजगारमुखी बजेट ल्याएर प्रदेशलाई समृद्धिको बाटोमा हिँडाउने बताए।