मुख्यमन्त्री नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

रिपोर्ट नेपाल | 2024 Apr 09 | 04:16 pm 893

काठमाडौँ २७ चैत / निवर्तमान मुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर माग गर्दै मङ्गलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सभामुखलाई सरकार गठनका लागि गणना गर्न नमिल्ने हुँदा अहिलेको सरकार गठनलाई बदर गर्न माग गर्दै कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीमा निरन्तरता दिनसमेत रिटमा माग गरिएको छ । पाण्डेका कानुनी सल्लाहकार चिरञ्जीवी शर्माले मंगलबार दिउँसो रिट दर्ता भएको जानकारी दिएका छन्।

मुख्यमन्त्री अधिकारीले एमालेका २२, माओवादीका सभामुखसहित आठ र स्वतन्त्र सांसद राजीव गुरुङ९दीपक मनाङे० सहित ३१ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी गरेका थिए । एमाले संसदीय दलका नेता मुख्यमन्त्री खगराज अधिकारी आइतबार दिउँसो मुख्यमन्त्री नियुक्त हुनुभएका थिए ।

संसदीय दलको संख्या गन्दा बहुमत देखिए पनि सभामुखले मत दिन नपाउने हुँदा विश्वासको मतका लागि राप्रपाको समर्थन आवश्यक हुन्छ। राप्रपाले गण्डकीको सत्ता समीकरणबारे कुनै निर्णय गरेको छैन । त्यसअघि नै कांग्रेस अदालत गएकाले सर्वोच्चको आदेशअनुसार गण्डकी सरकारको निर्णय हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.