मुकुल ढकाललाई साधारण सदस्यबाट हटाउने

रिपोर्ट नेपाल | 2024 Aug 27 | 09:12 am 265

काठमाडौँ ११ भदौ / अहिले बिहान केन्द्रीय कार्यालय वनस्थलीमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । बैठकमा पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका डा.मुकुल ढकालमाथि अनुशासनको कारबाहीबारे छलफल हुने जनाइएको छ ।

रास्वपाले डा ढकाललाई साधारण सदस्यबाट पनि हटाउने विषयमा छलफल गर्न लागेको बुझिएको छ । ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ । गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

उनले बुझाएको प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो ।

आजको बैठकमा आगामी असोजमा हुने, राष्ट्रिय भेला छाया सरकार सञ्चालन कार्यविधि, सङ्गठन सुदृढीकरण र विस्तार लगायत समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.