मिटर ब्याजपीडित ११ दिन पैदल हिँडेर काठमाडौँ आइपुगे

रिपोर्ट नेपाल | 2023 Mar 26 | 05:15 pm 1713

काठमाडौँ, चैत १२ः मिटर ब्याजविरुद्ध महोत्तरीको बर्दिवासबाट पैदल हिँडेका पीडितहरू आज (आइतबार) ११ औं दिन काठमाडौं आइपुगेका छन् । बर्दिवासबाट पैदल हिँडेका ७२ जनाको टोली आज काठमाडौँको चन्द्रागिरि नगरपालिका मातातीर्थ आइपुगेको हो । बालबच्चा बोकेका महिलाहरु समेत पैदल मार्चमा सहभागी छन् ।

मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोधस्वरूप पैदल हिँडेका हुन् । गाउँ–गाउँबाट आएका पीडितहरूले र्‍यालीसँगै नाराबाजी गर्दै हिँडिरहेका छन् । मिटरब्याजी साहुले दुःख दिन थालेकाले महोत्तरीका मिटर ब्याजपीडित चैत २ गते काठमाडौँका लागि हिँडेका थिए ।

भोलि (सोमबार) देखि माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ । तमसुक व्यवस्था खारेज गर्नुपर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनुपर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने लगायका माग उनीहरुले राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.