पोखरा, जेठ २३: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण अघिसम्म विशेषतः दक्षिण भारतबाट बढी मात्रामा धार्मिक पर्यटक आउने गरेको पर्यटकीय नगरी पोखरा लगाएत तिर्थधाम मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको ओइरो लागेको छ । मोदीको भ्रमणअघि दक्षिण भारतबाट मात्र आउने पर्यटक यतिखेर उत्तर भारतका पर्यटक पनि मुक्तिनाथ लगायतका तीर्थस्थलको दर्शनका लागि आउने क्रम वृद्धि भएको छ ।
पछिल्लो समयमा पोखरा आउने भारतीय पर्यटकको संख्या उत्साहजनक रुपमा बढेको छ । “मोदीको मुक्तिनाथ र जनकपुर भ्रमणसँगै पोखरा आउने भारतीय पर्यटकको संख्या ह्वात्तै बढेको छ,” पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले भने। भारतीय पर्यटक मुक्तिनाथको दर्शन र हिमाली भू–भागको अवलोकन गर्न आउने गरेका छन् ।
भ्रमणका लागि नेपाल सरकारको सवारी पास अनुमति लिएर भारतीय पर्यटक आउने गरेका छन् । यतिखेर भारतका उत्तरप्रदेश, बिहार, सिक्किम, उत्तराखण्डलगायत स्थानका पर्यटक पोखरा घुम्न आएका छन् ।
पोखरा आउने भारतीय पर्यटक पोखरालाई आधार बनाइ उडानका माध्यमबाट जोमसोम विमानस्थल हुँदै मुक्तिनाथ पुग्ने गरेका छन् । कतिपय पर्यटक सडक मार्ग प्रयोग गरी उक्त स्थानमा जाने गरेका छन् । पछिल्लो समय मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकको संख्या बढिरहेको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले बताए।
“मोदीको भ्रमण अघि पनि भारतीय दर्शनार्थी आउने गरेका थिए, भ्रमणपछि उनीहरूको संख्यामा वृद्धि भएको छ,” उनले भने । मोदीको भ्रमणपछि दैनिक एक हजारको हाराहारीमा भारतीय दर्शनार्थी आउने क्रम जारी छ ।
भारतका विभिन्न ठाउँमा गर्मी ह्वात्तै बढेका कारण भारतीय पर्यटकको चाप बढेको नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सन्तोष पोखरेल बताउछन् । “यतिखेर भारतमा गृष्मकालीन बिदा छ, बिदाको उपयोगका साथै धार्मिक स्थलको दर्शन र प्राकृतिकस्थलको अवलोकनको लक्ष्य राख्दै पर्यटक पोखरा र आसपासका क्षेत्र आउने गरेको पोखरेल बताउछन् ।
भारतबाट आउने पर्यटकमध्ये ९० प्रतिशतले आफ्नै सवारी साधन लिएर आउने गरेको जानकारी दिँदै उनले पोखरामा सामान्यतः दुई÷तीन रात बिताउने गरेको बताए। होटेल एशियाका सञ्चालक धर्म पन्थीका अनुसार पोखराका होटेलमा यतिखेर भारतीय पर्यटकको संख्या उत्साहजनक रुपमा बढेको बताउँछन् ।
भारतका विभिन्न सहरमा नेपाल पर्यटन बोर्डसहित पर्यटन सम्बद्ध संघ संस्थाले गरेका प्रवद्र्धनात्मक कार्यक्रमको प्रभावकारिताका कारण भारतीय पर्यटकको संख्यामा वृद्धि हुँदै गएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले बताए।
थपलियाका अनुसार सामान्यतः वार्षिक रुपमा हवाईमार्ग हुँदै पोखरा आउने भारतीय पर्यटकको संख्या करीब ६० हजार रहेको छ भने स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या दुई लाख रहेको जानकारी दिए ।
नेपाल आउने पर्यटकमध्ये विगतमा ३० देखि ४० प्रतिशत पर्यटक पोखरा आउने गरेकोमा पछिल्लो समयमा उक्त संख्या बढेर ५० देखि ६० प्रतिशतसम्म पुग्ने गरेको छ । पोखरामा पर्यटकलाई लक्ष्य गरी व्यवसायीले रु एक खर्बभन्दा बढी लगानी गरिसकेका छन् । पोखरामा हाल दुईवटा पाँच तारे, १४ वटा तीन तारे र अन्य पर्यटकस्तरीय करिब ४०० वटा सुविधा सम्पन्न होटल रहेका छन् ।