मासिक शुल्क तिर्न अभिभावकलाई दबाब दिने स्कुलमाथि छानविन सुरू

| 2020 May 21 | 07:58 am 1908

काठमाडाैं, जेठ ८ः काठमाडौं महानगरपालिका शिक्षा शाखाले काठमाडौं भ्याली, काव्य र ह्वाइट हाउस वल्डलगायतका स्कुललाई सोधपुछ गरेको छ ।

लकडाउनको समयमा मासिक शुल्क तिर्न अभिभावकलाई बारम्बार चेतावनी दिएपछि कामपा शिक्षा विभागले सोधपुछ गरेको हो ।

कामपा शिक्षा अधिकारी सीताराम कोइरालाले अनलाइन र अन्य कक्षा सञ्चालन गरेको बहानामा शुल्क उठाउन अभिभावकलाई दबाब दिएपछि सोधपुछ गरेको बताए । उनले भने–सञ्चारमाध्यममा आएका समाचार र अभिभावकको गुनासो र उजुरीको आधारमा सोधपुछ गरेका हौं ।

काठमाडौं भ्याली स्कुलले दुईपटकसम्म म्यासेज पठाएर अभिभावकलाई शुल्क तिर्न दबाब दिएको थियो । हिमालयन ह्वाइट हाउसले कक्षागतरूपमा अभिभावकसँग अनलाइन बैठक गरेर वार्षिक शुल्क मागेको थियो ।

काव्यले प्रेमराज अर्याल, दिलीप थापा र सुनिलकुमार घर्तीको नाम उल्लेख गर्दै इन्भेस्टमेन्ट बैंकको खातामा शुल्क जम्मा गर्न दबाब दिएको थियो । यसअघि वेस्ट मन्टेश्वरीले अभिभावकलाई पत्र पठाएर शुल्क माग गर्दा कामपा शिक्षा विभागले स्पष्टीकरण लिएपछि रकम लिने निर्णय फिर्ता लिएको थियो ।

विभागमा दैनिकजसो उजुरी आउन थालेपछि विभागले विभिन्न माध्यमबाट अनुगमन सुरू गर्न थालेको जनाएको छ । शिक्षा अधिकारी कोइरालाले यस्तो अवस्थामा शुल्क लिन खोज्ने विद्यालयमाथि कारबाही गर्ने चेतावनी दिए । उनले भने–शिक्षा दिने नाममा मनपरी गर्न कसैलाई छुट छैन ।

डा स्वागत श्रेष्ठ अध्यक्ष रहेको छाउनीको काठमाडौं भ्याली स्कुलले त आर्थिक अनुशासन कायम गर्न जेठ माहिनासम्मको शुल्क तिर्न ताकेता गरेको थियो । विद्यालयले ताकेता गरेलगत्तै स्पष्टीकरण सोधिएको शिक्षा अधिकारी कोइरालाले बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.