काठमाडौं, मंसिर २१: १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा नेपाली राष्ट्रिय टोलीले माल्दिभ्सलाई पराजित गरेका छन् । शनिबार भएको खेलमा माल्दिभ्सलाई २–१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता भने माल्दिभ्सले लिएको थियो । उसका लागि १८औं मिनेटमा इब्राहिम हुसेनले गोल गरेका थिए । कर्नरमा आएको बललाई ६ यार्ड बक्सभित्र अनमार्क रहेका इब्राहिम हुसेनले वन टचमा सहजै गोल गरे ।
खेलको ४२औं मिनेटमा नेपाल खेल बराबरी गर्नबाट चुक्यो । अभिषेक रिजालको उत्कृष्ट ड्रिब्लिङपछिको पासलाई सुजलले पेनाल्टी क्षेत्रभित्र सुनिललाई दिएपछि उनको प्रहारलाई माल्दिभ्सका गोलरक्षक हुसेन सरीफले विफल पारे ।
अभिषेक रिजालले पेनाल्टी क्षेत्रको ठिक बाहिर बललाई उत्कृष्ट नियन्त्रणमा लिँदै गरेको प्रहार गोलमा परिणत गरी नेपाललाई बराबरी बनाएका थिए ।
दोस्रो हाफको ५२औं मिनेटमा नेपालले अग्रता लियो । सुनिलको कर्नरबलमा अनन्त तामाङको हेडले खेलमा नेपाललाई अग्रता दिलाएको थियो ।
यस नतिजासँगै नेपाल ३ खेलमा ७ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । माल्दिभ्स ४ खेलमा २ अंक जोड्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । अब फाइनल पुग्न नेपालले अन्य नतिजाको पर्खनुपर्ने छ ।