काठमाडौँ चैत २८: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय धनुषाका निमित्त प्रमुखलाई घुससहित पक्राउ गरेको छ । मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल कुमार झालाई अख्तियारको टोलीले ५ लाख घुस रकमसहित पक्राउ गरेको हो ।
भूमिसुधार तथा मालपोत कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झाले जग्गा सम्बन्धी हक साफी मुद्दामा उक्त मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग रु. ५,००,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झालाई सेवाग्राहीबाट रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजलाई भानुचोक, जनकपुर, धनुषाबाट आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।’