कञ्चनपुर जेठ २४: पश्चिम नेपालको कञ्चनपुर स्थित दक्षिणी सीमान्त पुनर्वास लगायत आसपासका क्षेत्रहरूमा बिहिवारदेखि सशस्त्र प्रहरीले “मार्च पास” सुरु गरेको छ । नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा साता व्यापी रूपमा “मार्च पास” सुरु गरेको हो ।
कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिका ९ बिचफाँटामा नेपाली बस्तीमै पसेर एसएसबीले तारबार भत्काउदा समेत सीमा क्षेत्रमा नदेखिएको सशस्त्र प्रहरी सीमा सुरक्षा “मार्च पास” अभियान केवल नौटंकी भएको सीमा क्षेत्रका स्थानीयहरूले बताएका छन् ।
“मार्च पास” को कुनै अर्थ नभएको पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नारायण प्रासाद जैसीले बताए । वडा अध्यक्ष जैसी भन्छन् “सीमाको समास्या दीर्घकालीन रूपले हल गर्न भारतीय प्रधानमन्त्री सँग प्रस्ताव राखिनु पर्ने माग राख्दै नेपालका प्रधानमन्त्री समक्ष बिन्ती बिसाए पनि समाधान निकाल्ने पहल नगर्ने तर अहिले सीमामा सशस्त्र प्रहरीका जवान एक हप्ता दौडाउनुको कुनै अर्थ छैन ।” वडा अध्यक्ष जैसी भन्छन् ” यसबाट न त सीमाको सुरक्षा सम्भव छ न त आपराधिक गतिविधि नै नियन्त्रण हुन्छन् यो केवल नाटक हो ।”
पटकपटक भारतीय अतिक्रमणको चोट झेल्दै आएको कञ्चनपुरको दक्षिणी सीमान्त क्षेत्रमा सुरक्षाका नाममा दरिलो उपस्थिति जनाउन नसकेको सरकार र सशस्त्र प्रहरीले अहिले आपराधिक गतिविधि नियन्त्रण र सीमा सुरक्षाको नाममा थालिएको अभियानको तुक नभएको सीमा क्षेत्रका स्थानीय बताउँछन् ।