विराटनगर, असोज १७ : मोरङ प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने चालकले अनिवार्य रुपमा सचेतना परीक्षा दिनुपर्ने भएको छ । मादक पदार्थ सेवन गरी सवारी कुदाउँदा हुने दुर्घटना नियन्त्रण गर्न असोज २३ गतेदेखि मापसे गरेर सवारी चलाए परीक्षा दिनु पर्ने भएको हो ।
चालकसँग परीक्षा लिनका लागि त्यहीअनुरुपको प्रविधिको पनि विकास गरिएको मोरङ प्रहरीले जनाएको छ। मापसे गरेर सवारी साधन चलाउँदा दुर्घटना बढेपछि थप कडाई थालिएको मोरङ ट्राफिक प्रमुख शिवकुमार पोखरेलले जानकारी दिए। ‘चालकले मादक पदार्थ सेवन गरे नगरेको विषयमा ब्रेथलाइजरमार्फत चेकजाँच गरिने छ’, उनले भने, ‘मापसे गरेको पाइएमा साथमा भएका कागजपत्र र सवारी साधन नियन्त्रणमा लिएर चालकलाई पूर्जी दिइने छ।’
मापसे गर्ने चालकले परीक्षा दिनुपर्ने नियम बनाएर लागू गरिएको यो पहिलो पटक हो। चालकले परीक्षा दिन एक घण्टाभन्दा बढी समय खर्चनुपर्नेछ। प्रहरी कार्यालयमा लिइने परीक्षामा उपस्थित हुन नभ्याउने चालकलाई अनलाइनबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले बताए।
परीक्षामा ट्राफिक नियम, मापसे गर्दा हुने कारवाही लगायतका विषयमा ८० वटा प्रश्न सोधिनेछ । परीक्षामा विशिष्ट श्रेणी अर्थात ८० प्रतिशत उत्तर मिलाउनेलाई मात्र जरिवाना तिराएर लाइसेन्स दिइनेछ ।
चालकले मोरङ पुलिस डट कमु मा गएर अनलाइनमार्फत परीक्षा दिनुपर्ने पोखरेलले बताए । उनले अनलाइनमार्फत परीक्षा दिने चालक परीक्षामा पास भए नभएको बारेमा अनलाइनले नै स्पष्ट गरिदिने बताए। त्यसका लागि चारवटा छुट्टाछुट्टै खण्ड भएको परीक्षा प्रणालीको विकास गरिएको जानकारी एसपी केसीले दिए। ‘प्रत्येक खण्डमा ट्राफिक नियम उल्लंघन, ट्राफिक नियमको पालना र कानुनसँग सम्बन्धित विषय समेटिएका १५ देखि २० वटा प्रश्न हुन्छन्’, उनले भने, ‘पास हुनका लागि प्रत्येक खण्डमा ८० प्रतिशत अंक ल्याउनै पर्छ।’
अनलाइनमार्फत घरमा बसेरपनि परीक्षा दिन सकिनेछ । ‘घरमै बसेर परीक्षा दिने हो भने प्रहरीले लाइसन्स जफत गर्दा दिएको चिठको नम्बर हालेपछि मात्र परीक्षा दिन पाइन्छ’ उनले भने ‘वेभसाइट खोलेर दिएको परीक्षा हामी कहाँ रेर्कड हुन्छ ।’ वेभसाइट खुल्ने वितिकै अटामेटिक भिडियो रेकर्ड हुने बताउँदै उनले मापसे सेवनकर्ता वा अरुले नै परीक्षा दिएको पनि पत्ता लगाउन सकिने जानकारी दिए ।