मापदण्ड विपरीत धूँवा फाल्ने ११ सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा

रिपोर्ट नेपाल | 2023 Jan 19 | 08:24 am 1729

काठमाडाैं, माघ ५ः काठमाडौँको बबरमहलमा बुधबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने ११ ओटा सवारी साधन कारबाहीमा परेका छन् । मापदण्डभन्दा बढी धूँवा फाल्ने सरकारी र संस्थानका गरी जिप ४ ओटा, निजी कार २, भाडा बस २ र भाडाका माइक्रोबस ३ गरी ११ ओटा सवारी साधन कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक
प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले बुधबार बबरमहलमा ६१ ओटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धूँवा फाल्ने ११ ओटा सवारी साधन कारवाहीमा परेका हुन् । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.