मोरुङ, जेठ २०: मोरङको रंगेली नगरपालिकाका एक वडाअध्यक्षले मानव तस्करीमा संलग्न भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको खुलेको छ । भारत कुर्साकट्टा, डहुआबाडी १३ का मुज्जफर हुसैनलाई रंगेली नगरपालिका–८ का वडाध्यक्ष ढकप्रसाद आचार्यको सिफारिसमा नागरिकता दिइएको हो । उनी एक वर्षदेखि सोही नगरपालिकाको दर्बेसास्थित ठूलोबुबाको घरमा बस्दै आएका थिए । हुसेनलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेपछि रहस्य खुलेको हो।
हुसैनले ठूलोबुबा अवहुल सकर मियाँका छोरा आनाबारुल मियाँलाई बाबु बनाएर नागरिकता बनाएको पाइएको प्रहरीले जनाएको छ। हुसैनलाई नागरिकता दिलाउन वडाध्यक्ष आचार्यले आफूलाई पनि झुक्याएर हस्ताक्षर गराउन लगाएको वडा सदस्य भक्त थापाले दाबी गरेका छन्।
आचार्यले ३० वर्षीय हुसेनको उमेरसमेत २० वर्ष उल्लेख गरी जन्मदर्ता गराएको पाइएको छ । सर्जमिन मुचुल्कामा वडाध्यक्ष र वडासचिवको मिलेमतोमा गाउँमै नभएका व्यक्तिको फर्जी हस्ताक्षर राखी जन्मदर्ता दिइएको छ। मुचुल्कामा रंगेली ८ बस्ने मरदिन चुरौटे, इमाम चुरौटे, मो. राजाक, बलराम पौद्दार र कृष्णमोहन पौद्दारको हस्ताक्षर छ । उनीहरूमध्ये पोद्दारको हस्ताक्षर फर्जी छ । त्यसैगरी इमामलाई ट्याक्टरको कारोबारको कागज भनी हस्ताक्षर गराइएको स्रोतको दाबी छ।
भारतको विधानसभा र लोकसभा निर्वाचनको मतदातासमेत रहेका हुसैनले नेपालमा राजा मियाँको नामबाट नागरिकता बनाएका हुन्। बिहारको गत जनवरी १० मा प्रकाशित निर्वाचन नामावलीमा हुसेनको मतदाता परिचयपत्र नम्बर यू.एक्स.बी.१३८०५१८ छ। उक्त परिचयपत्रमा बाबुको नाम मो. हासिम उल्लेख छ।
हुसैनलाई इलाका प्रशासन कार्यालय रंगेलीबाट दिइएको नागरिकताको नम्बर ०५०२७४/०४७६२ छ। २०७४ माघ १७ गते जारी नागरिकतामा जन्ममिति २०५४ साल भदौ २३ गते उल्लेख छ।
हुसैनले वैशाख २६ गते स्थानीय एक १३ वर्षीय बालिकालाई भारतको गाजियाबाद लगेर बेचेका थिए। पीडित परिवारले आफन्त, प्रहरी र माइती नेपालको सहयोगमा ती बालिकाको उद्धार गरेपछि हुसेन फरार भएका थिए।