काठमाडौं, कात्तिक ५ः प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्ले सोमबारबाट अर्को संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोगलाई पदाधिकारी विहीन बनाएको छ । आयोगमा कार्यरत पाँचै जनाको सोमबारबाट संवैधानिक व्यवस्थाबमोजिम कार्यकाल सकिएकाले आयोगमा पदाधिकारी शून्य भएको हो ।
नेपालको संविधानको धारा २४८ को उपधारा (१) मा आयोगमा अध्यक्षसहित पाँच जना पदाधिकारी रहने व्यवस्था छ । उपधारा (२) मा राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा आयोगका अध्यक्ष र सदस्यको नियुक्त गर्ने प्रावधान छ । उपधारा (३) मा उनीहरुको कार्यकाल ६ वर्षको हुने स्पष्ट गरिएको छ ।
सोमबारबाट अवकाश पाएका अध्यक्ष अनुपराज शर्मा र सदस्यहरु प्रकाश वस्ती, सुदीप पाठक, मोहना अन्सारी र गोविन्द शर्मा पौडलले २०७१ सालको कात्तिक ३ गते कार्यभार सम्हालेका थिए ।
कोभिड—१९ को माहामारी, शिक्षा, स्वास्थ्यमा देखिएको ह्रास, बलात्कार तथा अन्य अपराधका घटना उल्लेख्यरुपमा वृद्धि भएको अवस्थामा आयोगलाई पदाधिकारी विहीन बनाउन नहुने सम्बन्धित विज्ञहरुले उल्लेख गरेका छन् । नेपाल समाचारपत्रबाट