मानवतस्करीमा कलाकार सक्रिय, ‘हिम्मतवाली’का नायक गौतम पनि संलग्‍न

रिपोर्ट नेपाल | 2018 Aug 01 | 09:50 am 1992

काठमाडौं, साउन १६: पछिल्लो समय मानव तस्करीमा कलाकारहरुको सक्रियता बढीरहेको छ। यसअघि नेपाल चलचित्र क्षेत्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्की मानव तस्करी आरोपमा पक्राउ परेका थिए।

त्यसको कही महिना बित्न नपाउँदै नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको खुलेको छ। अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द र पुष्प चन्दको जाहेरीपछि गौतम मानव तस्करीमा संलग्न रहेको खुलेको हो । उनीहरूसँगै अमेरिका जान लागेकी भक्तपुरकी सुमित्रा कुँवरको भने जहाजमै मृत्यु भएको थियो।

प्रहरीका अनुसार हाइटीस्थित पोर्ट अफ वेबाट समुद्री बाटो हुँदै अमेरिका छिर्न लागेका उनीहरू सवार पानीजहाज पाभोस्थित समुद्रमा बिग्रिएको थियो। जहाजमा उनीहरूसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानबाट लगिएका १५ युवती सवार थिए। जहाज अड्किएको १४ दिनपछि सुमित्राको स्वास्थ्य बिग्रिएको थियो।

औषधिउपचार अभावमा सुमित्राको मृत्यु जहाजमै भएको थियो। खाना र पिउनेपानीको अभावकै कारण जहाजमा सवार सबै बेहोस भएका थिए । समुद्री यात्रा गरिरहेका बाहमासका सुरक्षाकर्मीले अलपत्र जहाज भेट्टाएपछि उनीहरूको उद्धार गरेका थिए ।

कलाकार बनाएर मानव तस्करी

प्रहरीका अनुसार उनीहरूलाई नेपालबाट विभिन्न रुट हुँदै हाइटीसम्म बाग्लुङका सागर श्रीश, म्याग्दीका लेकबहादुर पुन, ओखलढुंगाका अनिल बानियाँ र बाँकेका सुरज काफ्लेले पु-याएका थिए। त्यसपछि अमेरिका लैजाने जिम्मा भने गौतमले लिएका थिए । उनीहरूलाई संस्कार नामक चलचित्रका कलाकार तथा प्राविधिक बनाएर अमेरिका लगिँदै थियो । त्यसमध्ये सागर, लेकबहादुर, अनिल र सुरजलाई भने महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरिसकेको छ ।

महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले मानव तस्करीमा हिम्मतवाली चलचित्रका नायक सुदर्शन गौतमको संलग्नता देखिएको बताए । उनले भने, ‘हामीले केहीलाई पक्राउ गरेका छौँ । केही निगरानीमा छन् । उनीहरूको बयान सुन्दा सुदर्शन गौतमको पनि संलग्नता देखिन्छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’

यी रुट हुँदै अमेरिका गएका थिए तीन युवती

प्रहरीका अनुसार बाँके कोहलपुरका जसोदा र पुष्पलाई सागर, लेकबहादुर, अनिल र सुरजको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बैंकक लगे । बैंककमा दुई महिना राखे । त्यसपछि मलेसिया लगे । त्यहाँ १२ दिन राखे । अनि सिंगापुर लगे । त्यहाँ ८ दिन बिताए । फर्काएर उनीहरूलाई भारतको दिल्ली ल्याइयो । दिल्लीमा ६ दिन राखियो ।

भक्तपुरकी सुमित्रा कुँवरलाई पहिले नै त्यहाँ राखिएको रहेछ । त्यहाँबाट तीनैजना ‘संस्कार’ फिल्मको सुटिङका लागि हाइटी जान लागेको भन्दै नक्कली कागजात बनाइयो । सोही कागजातका आधारमा तीनैजनालाई दिल्लीबाट रसियाको मस्को हुँदै स्पेनको म्याड्रिड, बोगटा लगियो ।

त्यसपछि सबैलाई डोमेनिकन रिपब्लिक लगियो । करिब एक महिनाको बसाइपछि उनीहरूलाई हाइटीको राजधानी पोर्ट अफ प्रिन्स लगियो । त्यहाँ ३ महिना राखियो । त्यसपछि उनीहरूलाई हाइटीकै अर्को सहर पोर्ट अफ वे लगियो । त्यहाँबाट पानीजहाज चढाएर पोभो लगियो । यहीक्रममा जहाजको इन्जिन बिग्रियो । १८ दिनसम्म जहाज समुन्द्रमै बेवारिसे बन्यो । यसक्रमा भक्तपुरकी सुमित्राको जहाजमै ज्यान गयो । अन्य भने बेहोस बने । यहीबीचमा बाहमासका सुरक्षाकर्मीले अलपत्र जहाज भेटे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.