माथिल्लो तामाकोसी बाँधको परीक्षण सुरु

| 2021 Apr 22 | 09:52 am 201

काठमाडौँ बैशाख ९: बहुचर्चित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङमा एक साताभित्र पानी हालिने भएको छ । सुरुङमा पानी हाल्नका लागि बाँधमा बुधबारदेखि पानी भर्न सुरु गरिएको छ ।
आयोजनाको काम करिब सकिएकाले विद्युत् उत्पादन गर्नका लागि पानी हाल्न थालिएको हो । शनिबारसम्म बाँधमा पानी भरिने र आइतबारदेखि सुरुङमा पानी पठाउने तयारी भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेश न्यौपानेले बताए । सुरुङ परीक्षणका लागि एकै पटक धेरै पठाउन नमिल्ने भएकाले विस्तारै पानीको प्रवाह बढाएर सुरुङमा पानी पठाउने उनले बताए ।

सुरुङमा पानी पठाएपछि मुख्य सुरुङ र पेनस्टक पाइपको प्राविधिक परीक्षण हुनेछ । प्राविधिक परीक्षणका क्रममा कुनै जटिल समस्या नआए सुरुङमा पानी हालेको १० देखि १२ दिनमा पूरा हुने आयोजनाका उपप्रबन्धक तथा अनुगमन महाशाखा प्रमुख विमल गुरुङले जानकारी दिए । आयोजनाको काम ढिला भएकोमा प्रधानमन्त्री तहबाटै चर्को दबाब आउन थालेपछि नेपाल विद्युत् प्राधिकरण र आयोजना व्यवस्थापक अपर तामाकोसी हाइड्रोपावर कम्पनीले फास्ट ट्रयाक विधिबाट प्राविधिक परीक्षण र विद्युत् उत्पादन गर्न लागेको छ । वैशाख महिनाभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठसहितका उच्च अधिकारी आयोजनास्थलमै केन्द्रित छन् ।

हाल आयोजनाको बाँध, सुरुङ, प्रसारणलाइन, सबस्टेसन लगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका बाँकी काम भइरहेका छन् । वैशाख ३१ गतेसम्म आयोजनाको एउटा युनिट सञ्चालनको तयारी भइरहेको छ । माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको छ ।

मुख्य निर्माणअन्तर्गत बाँध र इन्टेक, मुख्य सुरुङ, विद्युत्गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको काम सकिएको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलगजस्ता हाइड्रोमेकानिकल उपकरणको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।

आयोजनाको ८ किलोमिटर मुख्य सुरुङ र ३ सय ७२ मिटर र ३ सय १० मिटरका २ वटा ठाडो पेनस्टक पाइपको सुरुङ छन् । ठाडो पेनस्टक पाइप जडान भएको बीचमा २ सय मिटर र मुख्य सुरुङमा समेत ठाडो सुरुङसँग जोडिएको ठाउँमा पेनस्टक पाइप नै रहेको छ । सुरुङ र पेनस्टक पाइपमा चुहावटका कुनै प्राविधिक समस्या देखिए पुर्न पानी खाली गराएर मर्मत गर्नुपर्दा लक्षित मितिमा विद्युत् उत्पादन नहुन पनि सक्छ । आयोजना सम्बद्ध अधिकारीहरू भने प्राविधिक गुणस्तरमा अन्तर्राष्ट्रिय परामर्शतादा र आयोजना व्यवस्थापन पक्षबाट समेत निरन्तर अनुगमन भएकाले समस्या नआउनेमा आफूहरू विश्वस्त रहेको बताउँछन् ।

आयोजनाको पेनस्टक पाइप र विद्युत्गृहमा जडान भएका मेसिनको यसअघि नै सुक्खा परीक्षण सफल भइसकेको छ । विद्युत्गृहको भने डेढ वर्षअघि नै पूरा भएकाले नियमित तताउने र मर्मत सम्भार जारी छ । आयोजनाको बाँध एक वर्षअघि र बालुवा थिग्रयाउने पाखेरी एक महिनाअघि परीक्षण पूरा भइसकेको छ ।

आयोजनामा ७६÷७६ मेगावाटका ६ वटा युनिट छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत् उत्पादन हुनेछ । २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढी पहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकलको ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ । आयोजना बनाउन निर्माण अवधिको ब्याजबाहेक ५३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । डलरको मूल्य वृद्धि, लम्बिएको समयको प्रशासनिक खर्च र ब्याजसमेत पुँजीकरण गर्दा आयोजना बनाउन कुल लागत ८० अर्ब रुपैयाँ बढी पुग्ने सम्भावना रहेको भन्दै आजको कारोबार दैनिकमा दिलबहादुर केसीले समाचार लेखेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.