मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि तयारी पूरा

| 2023 Apr 17 | 02:58 pm 517

काठमाडौं, वैशाख ४ः आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।

यही वैशाख ७ गते वैशाख कृष्णपक्ष औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेला सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर काम गरिएको बताए । उनका अनुसार मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति बनाएर काम गरिएको छ ।

वैशाख ६ गते साँझ बत्ती बाल्ने र भोलिपल्ट औँसीका दिनमा आमाको मुख हेर्ने तथा स्नान गर्ने भएकाले अघिल्लो दिनदेखि नै सोही क्षेत्रमा मेला लाग्ने अध्यक्ष उदासले बताए । यसपटक मेला भर्न पाँच लाखभन्दा बढी व्यक्तिले मेला भर्ने आयोजकको अनुमान छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या समेत बढ्दै गएको छ ।

दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीमा ठूलो मेला लाग्दै आएको चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ कुण्डमा पछिल्लो समय श्राद्ध गर्न जानेको सङ्ख्या पनि बढ्दै गएको हो । मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाटमुक्त हुने विश्वास गरिन्छ । मातातीर्थमा पछिल्लो समय आमाको श्राद्ध गर्न आउनेको सङ्ख्या बढेको मन्दिरका पुजारी फणीन्द्र अधिकारीले बताए ।

“काठमाडौंमा कोठा भाडामा लिएर बस्ने तथा नजिक घर भएका व्यक्ति आमाको श्राद्धका लागि मातातीर्थ कुण्ड आउने गरेका छन्, यहाँ दैनिक आठ/दश जना श्राद्ध गर्न आउने गर्छन्,” उनले भने ।

संस्थाका अध्यक्ष उदासले आमालाई श्रद्धाभाव गरी पछिल्लो समय मातातीर्थ कुण्डको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या वृद्धि भएको बताए ।

“दर्शनसँगै यहाँ वार्षिक श्राद्ध गर्न आउनेको सङ्ख्यासमेत बढ्दै गएको छ तर यहाँको विकासका लागि स्थानीय सरकार र केन्द्रीय सरकारले कुनै सहयोग नगरेको उनले गुनासो गरे ।

“मातातीर्थ क्षेत्रको एकीकृत विकासका लागि फर्नपार्क, पिकनिक स्पट र कुण्डभन्दा ८०० मिटरमाथि आमाको स्वर्गद्वारी निर्माणको कामलाई अगाडि बढाएका छौँ,” उनले भने ।

सोही संस्थाले आमाको स्वर्गद्वारी क्षेत्रमा एक सय १३ फिटको ढुङ्गाको मूर्ति निर्माण गर्न लागेको छ । मातातीर्थ क्षेत्रमा असार, साउन र भदौ महिनामा अत्यधिक पानी हुने र चैत, वैशाख, जेठमा पानी सुक्ने भएकाले पानी व्यवस्थापनका लागि रिजर्भ ट्याङ्की निर्माण गर्नेबारे छलफल भइरहेको उनको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.