काठमाडौं, माघ ८: चर्चित हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । सिट बेल्ट नलगाइ कार चलाएका कारण उनलाई ट्राफिक प्रहरीले चिट काटेको हो ।
बुधबार ग्वोर्कोस्थित घरबाट निस्किने वित्तिकै कारबाहीमा परेपछि उनी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका थिए । त्यसक्रममा ट्राफिक प्रहरी जवानले आफूसँग मिठो बोली, वचन गरेको घिमिरेले बताए । उनले महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवादसमेत दिएका छन् ।
महाशाखा प्रमुख ढकालसँग उनले आफूलाई कारबाही गर्ने जवानलाई फेरि भेट्ने इच्छा गरे । त्यही अनुरुप ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई भेटेर उनले राम्रो व्यवहार र वचनका लागि आभार दर्शाएका छन् ।
यातायात व्यवस्था ऐनको प्रावधानअनुसार उनलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।