काठमाडौँ ०८ भदौ / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा मधेस संसदीय दलका सदस्यहरूसँग शनिबार बिहान भएको छलफलपछि पार्टीको मधेस प्रदेश संसदीय दल नेता भरत साहलाई दुई महिनाभित्र राजीनामा दिन निर्देशन दिएका छन्।
मधेस प्रदेश संसदीय दलमा विवाद बढ्दै गएपछि सोही विषयमा छलफल गर्न प्रचण्डले पार्टीका सवै सांसदहरूलाई काठमाडौं बोलाएका थिए। प्रचण्डले दल नेता साहलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए। दल नेता साहविरूद्ध मधेसमा माओवादीका नौजना मध्ये ६ जना सांसदले अविश्वास प्रस्ताव बुझाएका थिए।
खुमलटारमा शनिबार बिहानको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरूङ लगायत अन्य पदाधिकारीहरू पनि सहभागी थिए।
‘संसदीय दलका दुई तिहाई बढी सदस्यहरूले नै विश्वास नभएको भनेपछि अध्यक्षलगायत पदाधिकारीहरूले उहाँलाई राजीनामा गर्न भन्नुभएको हो,’ बैठकमा उपस्थित ती सांसदले भने।
गत असार २५ गते ६ जना प्रमुख सचेतक फकिरा महतोसहित सांसदहरू जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले हस्ताक्षर गरी साह विरूद्धको अविश्वास प्रस्ताव उपनेता समिर भट्टराईलाई बुझाएका थिए।
करिब तीन हप्तामात्रै अर्थमन्त्री हुँदा समेत उनले बजेट बनाउने क्रममा अनियमितता गरेको, पार्टी संसदीय दलको कुरा नसुनेको र बजेटमा आफैले चलखेल गरेर पिएलएमबिआइएस सिस्टममा कर्मचारीले ह्याक गरी बजेटमा गडबढी गरेको आरोप माओवादीकै सांसदहरूले साहमाथि लगाएका छन्।
सरकारमा जाँदा अरूलाई अवसर नदिई पटक पटक आफू मात्र मन्त्री बनेको आरोप पनि सांसदहरूले उनीमाथि लगाएका छन्।