काठमाडौं, असोज १३: मुलुकमा व्याप्त बलात्कार र अपराधका घटनाहरु दिनादिनु बढ्दै गएपनि सरकार थाहा नपाएकोजस्तो गरी चुप बसेको भन्दै नागरिक अगुवाहरुले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाहीको माग गर्दै मण्डलामा प्रदर्शन गरिएको हो ।
निर्मला पन्तको न्यायका लागि स्वःस्फूर्त रुपमा मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे ।
घटनाको दुई महिना भइसक्दा पनि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको देखिएको भन्दै गृहमन्त्री र सरकारविरुद्ध नाराबाजी गरे ।
उनीहरुले ‘सरकार कहाँ चुक्दैछ ? बलात्कारीसँग झुक्दैछ ?’, ‘गृहमन्त्री के हेर्दै ? बलात्कारी देश घेर्दै ?’ लगायतका नारा लगाएका थिए।