काठमाडौँ २५ चैत / नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ। बस्नेतविरुद्ध एक जना ३१ वर्षिया युवतीले हुलाकमार्फत प्रहरीमा जाहेरी दिएकी छन् ।
मुलुकी अपराध संहिता- २०७४ अनुसार प्रहरीमा दर्ता भएको हो । जाहेरी दर्ता भएसँगै बस्नेतलाई प्रहरीले सोधपुछ गरेको जनाएको छ । पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी दिएकी थिइन ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ति युवतीले बस्नेतलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् ।
आफूलाई बस्नेतले दुई पटक बलात्कार गरेको पीडित युवतीले जाहेरीमा आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख गरेकी छिन ।
उनीमाथि २ महिना १५ दिनको गर्भ हत्या गरेको आरोप लगाइएको छ । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडित युवतीको आरोप रहेको छ ।