‘महिला हिंसा विरुद्ध एकजुट हुनुपर्छ’

रिपोर्ट नेपाल | 2018 Oct 08 | 07:06 pm 3206

काठमाडौँ, २२ असोज : समाजमा बढ्दो महिला हिंसा, बलात्कार र यौनजन्य क्रियाकलापको न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘महिला हिंसाका कारण र समाधान’ विषयक अन्र्तक्रियामा सहभागी वक्ताले महिला हिंसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए ।

मानव अधिकारकर्मी गौरी प्रधानले ‘महिलाविरुद्ध हिंसाः स्थिति, कारण र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समय महिला हिंसा बढ्दै गएकाले यसका विरुद्ध समाजका सबै पक्ष सचेत हुनुपर्ने बताए । आर्थिक वर्ष २०७४/७५ मा मुलुकभरी बलात्कारका एक हजार ४८३, बलात्कार गर्न खोजिएको ७२७, बेचबिखन ३०८, गर्भपतन १८, बहुविवाह ६०२, बाल विवाह ६२, घरेलु हिंसा १२ हजार २२५ र बोक्सीको आरोपमा ४८ घटना भएको नेपाल प्रहरीको तथ्याङ्क रहेका छन् । यसरी यो तथ्याङ्कलाई हेर्दा घरेलु हिंसापछि बलात्कारका घटना बढी देखिएको कार्यपत्रमा उल्लेख छ ।

प्राध्यापक सङ्घका उपाध्यक्ष यादवप्रसाद लामिछानेले महिला हिंसाका घटना न्यूनीकरण गर्नका लागि स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। सङ्घका अध्यक्ष गोमा देवकोटाले महिला हिंसा रोक्न सरकारी र गैरसरकारी सबै निकाय एकजुट हुनुपर्ने बताउँदै सबै पक्षबीचको सहकार्यबाट मात्र सभ्य समाज बनाउन सकिने धारणा व्यक्त गरे

अनेमसङ्घ क्रान्तिकारीका अध्यक्ष अमृता थापामगरले महिला हिंसा कम गर्नका लागि महिला तथा पुरुष स्थानीयस्तरदेखि नै एकजुट भएर काम गर्नुपर्ने र त्यसका लागि सहकार्य गर्न आफू सदा तयार रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.