महिला तथा बालबालिका विभाग जिम्मेवारीविहीन

रिपोर्ट नेपाल | 2018 Dec 13 | 08:53 am 2027

ललितपुर, मंसिर २७ : महिला, बालबालिकाको विषय स्थानीय तहले हेर्ने भए पछि अहिले महिला तथा बालबालिका विभाग जिम्मेवारीविहीन भएको छ।

विभागको दरबन्दी आधाभन्दा बढी कटौती भएको र बाँकी कर्मचारीसमेत जिम्मेवारीविहीन भएको यहाँ कार्यरत शाखा अधिकृत विनोदकुमार खनालले बताए। सबै अधिकार स्थानीय तहमा गइसकेपछि अहिले विभागमा कुनै पनि कार्यक्रम छैन।

स्थानीय निकायका विभिन्न स्थानमा विभागको प्रतिनिधित्व हुने र स्थानीय तहमा गएका सम्पत्तिको विवरण राख्नेबाहेक अरु काम विभागसँग अहिले नभएको जानकारी दिँदै उनले भने, “राष्ट्रपति महिला उत्थान कार्यक्रमका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कार्यनीति बनाउन लागेकाले त्यो कार्यक्रम यहाँ आउला अरु कार्यक्रम अब सिधैँ स्थानीय तहमा नै जान्छ।”

सङ्घीयता कार्यान्वयन हुनुभन्दा पहिले विभागमा ५३ जनाको दरबन्दी भएकामा कटौती भएर १९ जनाको दरबन्दी रहेको छ । तीमध्ये कतिपय कर्मचारी व्यवस्थापनका लागि मात्रै रहेको जानकारी गराउँदै शाखा अघिकृत खनालले भने, “अहिले यहाँ भएका कर्मचारीको केही काम छैन ।” विभागमा कुनै कार्यक्रम नभएपछि कार्यालय सुनसान देखिन थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.