महिलामाथि दुर्व्यवहार गर्ने र्इश्वरको मृत्यु

रिपोर्ट नेपाल | 2018 Jun 02 | 08:14 am 3335

काभ्रे, जेठ १९: काभ्रेमा एक महिलामाथि दुर्व्यवहार गर्ने बनेपा नगरपालिका वडा नम्बर ११ घट्टेखोलाका ३७ वर्षीय र्इश्वर थापाको कुटपिटबाट ज्यान गएको छ ।

जेष्ठ १४ गते राति ८ बजे छिमेकी १८ वर्षीय उक्त महिलाका छोरा वसन्त खड्काको कुटपिटबाट थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार वसन्तले आमामाथि भएको ज्यादती सहन नसकेर बाँसको भाँटा र रडले प्रहार गर्दा थापाको मृत्यु भएको हो ।

पक्राउ परेका वसन्तले बयानमा भने, ‘प्रत्येक दिन मेरी आमा मेनुका खड्कालाई इश्वर थापाले मादक पदार्थ सेवन गरी पटक पटक कोठामा गई कुटपिट गर्दै आएका थिए । जेष्ठ १४ गते दिउँसो हामी कोही नभएको बखतमा मेरी आमालाई कुटपिट गरी मरणासन्‍न पारी बुबा र आमाको नागरिकता, लालपुर्जा समेत खोसी लगेका रहेछन् । वर्कशपमा काम गरेर घर पुग्दा आमाको दयनिय अवस्था देखेँ ।’

‘राजु सिग्देललाई पनि सँगै लिएर इश्वर बस्‍ने अस्थायी टहरामा पुगें । मैले बाँस लिएर गएको थिएँ । हातखुट्टा मात्रै भाँच्‍ने उदेश्यले हामी गएका थियौ । उसले घर भित्रबाट हामीलाई काट्न चक्कु बोकेर आयो । बाँसको भाँटाले हातमा हान्दा पनि चक्कु छाडेन । उसले उल्टै आक्रमण गर्न आयो । हामीले लालपुर्जा र नागरिकता माग्दा समेत दिन मानेन । उल्टै आमा माथि अपशब्द प्रयोग गर्न थाल्यो, वसन्तले प्रहरी बयानमा भने ।

स्थाई घर सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाविस ३ भएका वसन्त बनेपा नगरपालिका वडा नम्बर ४ बस्दै आएका थिए । बाबु गणेशबहादुर खड्काको चार महिना अघि निधन भएको थियो । प्रहरीले घटनामा संलग्न वसन्त र राजुलाई म्याद थप गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहले बताए । पत्रकार सम्मेलन गरी घटनाको बारेमा बताउँदै शाहले मेनुकाको घाउचेक जाँच गरी उपचार गरिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.